आल्मेरियासँग बार्सिलोनाको हार

स्पेनी ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले आइतबार आफ्नो अग्रतालाई अझ फराकिलो बनाउने अवसर गुमाएको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाले आइतबारको खेलमा आल्मेरियासँग १–० को स्तब्धपूर्ण हार बेहोरेसँगै अग्रता खुम्चिएको हो ।

दोस्रो स्थानमा रहेको रियल म्याड्रिड आफ्नो पछिल्लो खेलमा बराबरीमा रोकिएकाले बार्सिलोनासामु शीर्षमा १० अंकको अग्रता लिने अवसर थियो ।

तर‚ एल बिलाल टुरेले अल्मेरियाका लागि निर्णायक गोल गरेसँगै यसले उसको रेलिगेसनबाट बच्ने सम्भावना पनि बलियो भएको छ । आल्मेरिया २५ अंकमा १५ औं स्थानमा छ । यो साता बार्सिलोनाको यो दोस्रो हार हो । युरोपा लिगमा बार्सिलोना म्यानचेस्टर युनाइटेडसँग पराजित रहेको थियो ।

त्यसअघि बार्सिलोना सबै खाले प्रतियोगिताका १८ खेलमा अपराजित थियो । अल्मेरियासँग हारेपछि ज्याभीको टिमले लिगमा सात खेलको लगातार जितको क्रम पनि गुमाएको छ । आइतबारका अन्य खेलमा ओसासुनाले सेभियालाई ३-२, सेल्टा भिगाले रियल भालाडोलिडलाई ३–० र जिरोनाले एथलेटिको बिलबाओलाई ३–२ ले पराजित गरेको छ ।

सम्बन्धित समाचार