झापा गोल्डकप : मछिन्द्रलाई हराउँदै आर्मीले जित्यो उपाधि

इलाम – विभागीय टोली त्रिभुवन आर्मीले प्रथम भद्रपुर–झापा गोल्डकपको उपाधि जितेको छ। मेची रंगशालामा जारी प्रतियोगिताका उपाधि भेटमा मछिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै आर्मीले उपाधि जितेको हो।

आर्मीलाई उपाधि दिलाउन गोलरक्षक समितले मछिन्द्रका २ जना खेलाडीको प्रहार बचाएका थिए। ​रेजिन धिमाल र देवेन्द्र तामाङको प्रहारलाई समितले रोकेका थिए।

आर्मीको तर्फबाट जितेन्द्र कार्की, सन्तोष केसी, प्रज्वल गुरुङ र सुशान्त चौधरीले गोल गरे। सेसेहाङ आङ्दाम्बेको प्रहार गोलरक्षक विशाल श्रेष्ठले बचाएका थिए।

मछिन्द्रका तर्फबाट दिवाकर चौधरी, कप्तान सुजल श्रेष्ठ र दिपेश घलेले जाली चुमाए। निर्धारित ९० मिनेट र अतिरिक्त समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। उपाधिसँगै आर्मीले १३ लाख रूपैयाँ हात पारेको छ। उपविजेतामा सीमित बनेको मछिन्द्रले ७ लाख रूपैयाँ पाएको छ।

सम्बन्धित समाचार