काठमाडौं । यूएईमा जारी विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलामा सन्दीप लामिछानेले खेल्न पाउने भएका छन् । घाइते रहेका श्याम ढकालको स्थानमा सन्दीपलाई राख्न आईसिसीले अनुमति दिएको हो ।
योसँगै सन्दीप बुधबार नै यूएई जाने छन्। विदेश यात्रामा प्रतिबन्धका कारण सन्दीप नेपाली राष्ट्रिय टिमसँग जान पाएका थिएनन् । सर्वोच्चले आइतबार उनको प्रतिबन्ध फुकुवा गरेपछि यूएई जाने बाटो खुलेको हो ।
यूएईमा खेलिरहेको राष्ट्रिय टिमका एक–दुई खेलाडी चोटग्रस्त भएकाले एकजनालाई सन्दीपले प्रतिस्थापन गर्ने गरी पठाउन लागिएको बताइएको छ ।
आईसीसीको प्रावधान अनुसार कुनै पनि श्रृंखलाको बीचमा खेलाडी घाइते भएमा उसलाई रिजर्भमा रहेको अर्को खेलाडीले प्रतिस्थापन गर्न सक्छ । सन्दीप अहिले रिजर्भ खेलाडीका रुपमा छन् ।