विश्वकप फुटबल छनौटमा नेपाल अष्ट्रेलियासँग पराजित

विश्वकप फुटबल एवं एसियन कप फुटबलको छनौट चरणको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ३–० ले पराजित भएको छ ।

कुवेतको जाबेर अल अहमद इन्टरनेशनल स्टेडियमा भएको खेलमा नेपालले दोस्रो हाफमा एक खेलाडी कम रहेर खेलेको थियो । त्यसका बावजुत पनि नेपालले अष्ट्रेलिया विरुद्ध ३ गोल मात्र व्यहोरेको हो ।

खेलमा अष्ट्रेलियालाई विजयी गराउन म्याथ्यु लेच्की, फ्र्याङ्क काराकीक र मार्टिन बोयलले एक एक गोल गरे ।

नेपालका रोहित चन्दले ४५ औं मिनेटमा रातो कार्ड खाएपछि टोली १० जनामा समेटिएको थियो । यो हारसँगै नेपालले विश्वकप तथा एसियन कप छनौट चरणको समुह ‘बि’ मा चौथो स्थानमा रहँदै खेल सकाएको छ । पाँच टोली सहभागि समुहको पुछारमा चाइनिज ताइपेइ रह्यो ।

यो खेलपछि अष्ट्रेलिया विश्वकप फुटबलको तेस्रोे चरणको छनौट एवं एसियन कप फुटबलका लागि छनौट भएको छ । नेपाल भने एसियन कपको अर्को चरणको छनौट खेल्न प्ले अफ्को पर्खाइमा पुगेको छ ।

यसअघि २०१९ मा अष्ट्रेलियामा खेलेको खेलमा नेपाल ५-० ले पराजित भएको थियो ।

विश्वकप छनोटबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा बलियो टिम अष्ट्रेलियासँग नतिजाभन्दा पनि प्रदर्शनमा जोड दिने नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलअघि बताएका थिए । उनले अष्ट्रेलिया विरुद्धको खेलमा अघिल्लो खेलमा जोर्डन विरुद्ध खेलेका नेपाली टिममा ५ खेलाडी परिवर्तन गरेका थिए ।

अन्जन विष्टसहित अभिषेक रिजाल सन्तोष तामाङ दिनेश राजवंशी र विकास खवासको स्थानमा नवयुग श्रेष्ठ सुनिल बल एरिक विष्ट विशाल राई र गौतम श्रेष्ठ पहिलो रोजाईँमा खेलेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार