जनमोर्चा र जसपाको समर्थन पत्रसहित मुख्यमन्त्रीमा गुरुङको पनि दाबी

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन् । उनले राष्ट्रिय जनमोर्चाका कृष्ण थापा र जनता समाजवादी पार्टीका दुई सांसदको समर्थनको पत्रसहित फेरि मुख्यमन्त्रीमा दावी गरेका हुन् ।

राष्ट्रिय जनमोर्चाले कारवाही गरिसकेका सांसद कृष्ण थापालाई संसदीय दलकै नेता मानेर गुरुङले उनको पत्रको आधारमा जनमोर्चाका तीन सांसद आफ्नो पक्षमा रहेको दाबी गरेको स्रोतको भनाइ छ । त्यस्तै जसपाको प्रदेश कमिटीको निर्णय लिएर जसपाभित्र पूर्व राजपाका एक सांसदको समर्थन रहेको गुरुङले दाबी गरेका छन् ।

प्रदेश प्रमुख सीता पौडेलले दिएको २४ घण्टाको समय सकिनु केही अगाडि गुरुङले मुख्यमन्त्रीमा दावी गरेका हुन् ।

जसपाको केन्द्रमा महन्थ ठाकुर र उपेन्द्र यादव दुई अध्यक्षमध्ये कसको आधिकारिकता भन्ने विवाद चलिरहेका बेला प्रदेशमा पनि यो विवाद सरेको छ । राजमोका थापालाई सर्वोच्च अदालतमा प्रदेश सभा सदस्यमा पुनर्वहाली गरेपछि प्रदेशसभा सचिवालय भ्याकेटमा गएको थियो । तर यसबीचमा शुक्रवार पुन उनको पद रिक्त गराइएको सूचना गैर संवैधानिक भएको र अदालतमा भ्याकेटको निवेदनमाथिको मुद्दा समेत चलिरहेको जानकारी समेत प्रदेश प्रमुखलाई गराइएको छ ।

गण्डकी प्रदेशसभामा हाल ६० सदस्य छन् । प्रदेशसभाको सबैभन्दा ठुलो दल नेकपा एमालेका २७ सांसद छन् । मुख्यमन्त्री गुरुङले बिहीबार विश्वासको मत लिँदा तिनै २७ सांसदले मात्र पक्षमा मतदान गरे ।

अर्कोतिर विपक्षमा ३० मत खसेको थियो । नयाँ सरकार गठनका लागि दावी गर्न विपक्षीसँग पनि पर्याप्त बहुमत छैन ।

प्रदेशसभामा नेपाली काँग्रेसका १५, नेकपा माओवादी केन्द्रका सभामुखबाहेक ११, राष्ट्रिय जनमोर्चाका ३ र जसपाका दुई सदस्य गरी कुल ३१ सांसदको अंक गणित देखिन्छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार