टिप्परको ठक्करले कार चालकको ज्यान गयो, प्रहरी भन्छ कारकै गल्ती

धादिङको गजुरीमा बिहीबार काठमाडौंतर्फ आउँदै गरेको बा४च २७९ नम्बरको मारुती अटो कारलाई काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा३ख ७३९३ नम्बरको टिपरले ठक्कर दियो ।

ठक्करपछि ३३ वर्षीय चालक प्रकाश अधिकारीको घटनास्थलमै ज्यान गयो । आफन्तका अनुसार टिपरले गलत लेन दायाँतर्फ ओभरटेक गरेर कारलाई ठक्कर दिएको थियो । तर घटनापछि मुचुल्का गर्न पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले कारकै गल्ती देखाएर मुचुल्का बनाएपछि आफन्तले क्षतिपूर्ति पाउन सकेका छैनन् ।

टिपरको ठक्करले चालक बस्ने सिट र ढोकातर्फको पुरै भाग छियाछिया भएको छ । मृतकका दाइ किशोर अधिकारीका अनुसार टिपरचालक, टिपरधनी र यातायात व्यवसायी धादिङकै भएकाले प्रहरीसँगै मिलेमतो गरी मुचुल्का बनाएका छन् । जसले पीडित पक्षले क्षतिपूर्ति तथा न्याय पाउन सकेका छैनन् । ‘म पनि गाडी चलाउँछु तर प्रहरीले गलत मुचुल्का बनाएको छ,’ उनले भने, ‘घटनास्थल हामीले पनि अवलोकन गरेका छौं, प्रहरीले गलत मुचुल्का उठाएको छ ।’

उनका अनुसार मृतक कार चालकका २ जना नाबालक छोरा छन् । अभिभावक नै गुमिसकेकाले उनीहरूलाई हुर्काउन तथा पढाउन आर्थिक समस्या देखिने भएपछि पीडित पक्षले क्षतिपूर्ति माग गरेका छन् । उनीहरूले ३० लाख रुपैयाँ दिन आग्रह गरेका छन् । तर यसबारे टिपरचालक, प्रहरी, टिपर धनीले बेवास्ता गरेको मृतकका दाइ अधिकारीले बताए । उनले घरको अवस्था पनि नाजुक भएको जानकारी दिए । ‘हामीसँग किरिया खर्चसमेत छैन, क्षतिपूर्ति दिए मान्छौं नत्र शव बुझ्दैनौं,’ उनले भने, ‘प्रहरीले नै हाम्रो मागप्रति चासो दिएको छैन ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।

सम्बन्धित समाचार