चिनियाँ राष्ट्रपतिमा पुनः निर्वाचित भएकोमा सीलाई पुटिनको बधाई

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई चीनको राष्ट्रपतिमा निर्वाचित भएकामा हार्दिक बधाई सन्देश पठाएका छन् ।

राष्ट्रपति पुटिनले जनवादी गणतन्त्र चीनको राष्ट्रपतिमा निर्वाचित भएको अवसरमा सीलाई सीलाई न्यानो अभिवादनसहित बधाई व्यक्त गरेका छन् ।

चीनको नेशनल पिपुल्स कङ्ग्रेसको निर्णयले राष्ट्र प्रमुखको हैसियतमा पुनः पुग्नु भएका सीको उच्च प्रतिष्ठा रहेको र चीनको आर्थिक तथा सामाजिक विकासलाई प्रवर्द्धन गर्दै देशको हितको रक्षा गर्ने विषयमा अन्तर्राष्ट्रिय मञ्चमा उनले खेलेको भूमिकालाई पुनः पुष्टि गरेको पुटिनले उल्लेख गरेका छन् ।

रुसी पक्षले रुस–चीन बृहत्तर रणनीतिक साझेदारी सम्बन्धलाई  थप सुदृढ गर्नका लागि  राष्ट्रपति सीको योगदानको उच्च प्रशंसा गरेको छ ।  रुसी राष्ट्रपति  पुटिनले दुवै पक्षको संयुक्त प्रयासबाट विभिन्न क्षेत्रमा रुस–चीन सहयोगले निरन्तरता पाउँदै आगामी दिनमा अझ फलदायी नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रपति पुटिनले  क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा सीसँगको समन्वयलाई निरन्तरता दिने पनि बताए । उनले मित्रवत् चिनियाँ जनताको हितलाई प्रवर्द्धन गर्न राष्ट्रपति सीले नयाँ र ठूलो उपलब्धि हासिल गर्नेछ भन्ने कामना  समेत व्यक्त गरेका छन्। सी तेस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका हुन् ।

सम्बन्धित समाचार