अमेरिकालाई पछि पार्दै नेपाल चौथो स्थानमा, विश्वकप छनोट खेल्ने सम्भावना कायमै

काठमाडौं – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युनाइटेड अरव इमिरेट्स (युएई) माथि १ सय ७७ रनको कीर्तिमानी जित हात पादै अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ।

योसँगै नेपालले आगमी चार वर्षको लागि ओडिआई मान्यता पक्का गरेको छ । बाँकी दुवै खेलमा पराजित भएपनि नेपालले सोझै ओडिआई मान्यता प्राप्त गर्नेछ । नेपाल ३४ खेलमा १७ मा जित र १५ मा हारसहित ३६ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । नेपालले अमेरिकालाई पछि पार्दै अंक तालिकामा एक स्थान सुधार गरेको हो ।

नेपालले अव दुई खेल खेल्न बाँकी छ । दुवै खेल जितेको खण्डमा नेपाल शीर्ष तीनमा रहँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट सिधै खेल्न पाउनेछ । दुई मध्य एक खेल हारेको खण्डमा नेपालले यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ ।

यता युएईले भने सोझै ओडिआई मान्यता प्राप्त गर्ने अवसर गुमाएको छ । युएई ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ । युएईले बाँकी दुवै खेल जितेपनि शीर्ष पाँचमा पर्न सक्दैन । त्यसैले सोझै ओडिआई मान्यताको अवसर गुमाएको हो । युएईले अव ओडिआई मान्यता प्राप्त गर्न प्लेअफ क्वालिफायरमा शीर्ष चारमा पर्नुपर्ने हुन्छ ।

सम्बन्धित समाचार