काठमाडौँ – भोलि बिहीवार काठमाण्डौ उपत्यकाको मौसम सामान्य बदली भए पनि पानी पर्ने सम्भावना भने निकै कम रहेको मौसमविद्ले बताएका छन् ।
भोलि यूएईसँग हुन गइरहेको खेल नेपालका लागि महत्त्वपूर्ण रहेको छ । भोलिको खेल जितेमा नेपालले विश्व कप छनोट खेल्न पाउँछ । पानी परेर अङ्क बाँड्दा नेपालको विश्व कप छनोट खेल्ने लक्ष्य पूरा नहुने भएकोले मैदानमा पानी पर्ने–नपर्नेबारेमा क्रिकेट समर्थकहरूको चासो छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भोलि नेपाल र यूएईबीच क्रिकेट खेल हुन गइरहेकोले मौसमबारे धेरैको चासो भइरहेका बेला त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक तथा मौसमविद् विनोद पोखरेलले पानी पर्ने सम्भावना निकै कम रहेको बताए। भोलि दिउँसो १ देखि ३ बजेको बीचमा बदली हुने भए पनि पानी पर्ने सम्भावना निकै कम रहेको उनको भनाइ छ ।
अहिलेसम्मको अवस्था हेर्दा भोलि कीर्तिपुरमा पानी पर्ने सम्भावना निकै कम रहेको हो । तर प्रि–मनसुनको समय भएकोले जुनसुकै बेला फाट्टफुट्ट पानी पर्न सक्ने मौसमविद्हरू बताउँछन् ।