काठमाडौँ – नेपालको पुरुष फुटबल टोलीको फिफा वरियतामा सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले बिहीबार जारी गरेको नयाँ वरियतामा नेपाल १ सय ७४ औं स्थानमा रहेको छ । यसअघिको वरियतामा नेपाल १ सय ७५ औं स्थानमा रहेको थियो ।
यसबीचमा फिफा डेटमा भएको प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपाल लाओसलाई २–१ ले हराउँदै च्याम्पियन बनेको थियो । यद्दपी दशरथ रंगशालामा चैत १७ गते भएको त्यो फाइनल भने फिफा डेटमा थिएन ।
फिफा वरियता अनुसार नेपाल दक्षिण एसियाली राष्ट्र मध्ये भने तेस्रो स्थानमा स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको भारत फिफा वरियताको १ सय १ स्थानमा छ । दक्षिण एसियाको दोस्रो स्थानका रहेको माल्दिभ्स फिफा वरियतामा १ सय ५४ औं स्थानमा, भुटान १ सय ८५ औं, बंगलादेश १ सय ९२ औं, पाकिस्तान १ सय ९५ औं र श्रीलंका २ सय सातौं स्थानमा छ ।