नेपालले खेल्न लागेको एसीसी एसिया कप क्रिकेट प्रतियोगिता पाकिस्तान र श्रीलंकामा हुने सम्भावना बढेको छ । क्रिकेटसम्बन्धी विश्वव्यापी वेवसाइट क्रिकइन्फोले जनाएअनुसार एसियन क्रिकेट काउन्सिल (एसीसी) ले एसिया कपका लागि पाकिस्तानको ‘हाइब्रिड मोडेल’ को प्रस्ताव स्विकार गरेको तथा प्रतियोगिता पाकिस्तान र श्रीलंकामा आयोजना गर्नका लागि स्वीकृति प्रदान गर्ने भएको छ ।
पाकिस्तान आयोजक नै रहने तथा श्रीलंकालाई तटस्थ मैदानको रुपमा प्रयोग गरिने भएको छ । प्रतियोगिताको १३ मध्ये ४ अथवा ५ खेल पाकिस्तानमा खेलाइने तथा बाँकी खेल श्रीलंकामा हुने भएको छ । भारतको खेल भने श्रीलंकामा हुनेछ ।
सेप्टेम्बर १ देखि १७ तारिखका लागि तोकिएको प्रतियोगिताका लागि अन्तिम निर्णय यसै साता आउने क्रिकइन्फोले जनाएको छ । यसको अर्थ भनेको भारतले आयोजना गर्न लागेको एकदिवसीय विश्वकपका लागि पाकिस्तानको सहभागिता सुनिश्चित गर्नु पनि रहेको छ ।
भारत–पाकिस्तान मतभेदका कारण प्रतियोगिताको आयोजनामै सन्देह भइरहेको समयमा यो महत्वपूर्ण सफलताका रुपमा हेरिएको छ । दुई देशबीचको समस्याले भारतमा यसै वर्ष आयोजना हुन लागेको आईसीसी एकदिवसीय विश्वकपमै असर पर्नसक्ने सम्भावना थियो ।
सन् २०२५ मा पाकिस्तानले नै च्याम्पियन्स ट्रफी पनि आयोजना गर्दैछ । यो निर्णयले पाकिस्तानले विश्वकप आगमन पनि सहज हुनेछ ।
यस संस्करणको एसिया कपमा नेपालको पनि चासो थियो । नेपालले पहिलोपल्ट एसिया कप खेल्न लागेको छ ।
समूह ए मा नेपाल टिम भारत र पाकिस्तानसँगै परेको छ । नेपालले समूहमा एक खेल पाकिस्तान र अर्को खेल श्रीलंकामा खेल्नुपर्ने अवस्था हुनसक्छ ।