रिहा भए अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प

ह्वाइट हाउस छाड्ने बेला गोप्य कागजातहरू चुहावट गरेको मुद्दामा पक्राउ परेका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प रिहा भएका छन् ।

उनीविरुद्ध गत शुक्रबार गोप्य कागजात चुहावट गरेको सहित ३७ वटा मुद्दा दायर भएका थिए । ४९ पृष्ठ लामो अभियोगमा सुरक्षालाई खतरामा पार्ने, आणविक र रक्षा गोप्य फाइलहरू गलत रूपमा राखेको आरोप उनीविरुद्ध छन् ।

सोही मुद्दामा मंगलबार सुनुवाइका लागि उनी अमेरिकी मियामी अदालतमा उपस्थित भएका थिए ।

मियामीको डाउनटाउनको संघीय अदालतको १३ औँ तलामा उपस्थित उनलाई त्यहीँ प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यहाँ प्रहरीले उनको फिङ्गरप्रिन्ट लिई अदालतमा उपस्थित गराएको थियो ।

अदालतमा ट्रम्पका वकिल टोड ब्लान्चेले १५ मिनेटसम्म ट्रम्प ३७ वटै मुद्दामा दोषी नभएको दलिल पेस गरे । सुनुवाइपछि न्यायाधीश जोनथन गुडम्यानले ट्रम्पलाई निस्शर्त बाहिरिन अनुमति दिए । तर न्यायाधीशले ट्रम्पलाई आफ्ना सहयोगी वाल्ट नाटासँग कुनै सम्पर्क नगर्न आदेश दिए । उक्त मुद्दामा नाटालाई पनि प्रतिवादी बनाइएको छ ।

ट्रम्प अमेरिकी इतिहासमा संघीय अभियोग लाग्ने पहिलो राष्ट्रपति हन् ।

राष्ट्रपतिबाट अवकाश भएपछि उनीमाथि लागेको यो दोस्रो संघीय अपराध हो । चार महिनाअघि उनलाई एक वयस्क पोर्नस्टार स्टोर्मी ड्यान्यल्सलाई अभियोग लुकाउन पैसा दिएको सहित ३४ वटा अभियोग लागेको थियो ।

अप्रिल ४ मा अदालतभित्र प्रहरी ५७ मिनेट प्रहरी हिरासतमा रही उनले ती अभियोगबारे आफ्नो बयान दिएका थिए ।

 

सम्बन्धित समाचार