नेपालमा पहिलो पटक मंकीपक्स संक्रमण पुष्टि

नेपालमा पहिलो पटक मंकीपक्स (एमपक्स)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा एक जना ६० वर्षीया विदेशी महिलामा मंकीपक्सको संक्रमण पुष्टि भएको जनाएका हुन् ।

उक्त महिलामा एमपक्ससँग मिल्दोजुलो शंकास्पद लक्षण देखिएपछि नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षण गर्दा शुक्रबार एमपक्स पुष्टि भएको हो । ती महिला अहिले सामान्य स्वास्थ्य अवस्थासहित चिकित्सकको निगरानीमा रहेको पनि उनले जनाए ।

एमपक्स संक्रमण विश्वभरी १११ देशमा पुष्टि भइसकेको छ । डा अधिकारीका अनुसार यो रोग संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ–खटिरा–बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ संक्रमित बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्नसक्छ ।

यसले ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भइ फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थी बढ्ने हुन्छ । आँखामा संक्रमण भएमा दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्युसमेत हुनसक्छ ।

कसैलाई एमपक्ससँग मिल्दो लक्षण देखिए अस्पताल गई चिकित्सकको उचित सल्लाह लिन र मन्त्रालयको कल सेन्टर १११५ वा ११३३ मा सम्पर्क गरी परामर्श लिनुहुन मन्त्रालयले अनुरोध गरेको छ ।

साथै यसको निदानका लागि मन्त्रालयबाट हरेक प्रदेशमा अस्पतालसमेत तोकेर परामर्श लिन सक्ने व्यवस्था भइसकेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार