साफ च्याम्पियनसिप २०२३ अन्तर्गत समूह बी को खेलमा लेवनानले भुटानलाई सहजै हराएको छ ।
आइतबार भारतको बेंगलोरस्थित कन्तिरभा रंगशालामा लेवनानले भुटानलाई ४-१ ले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको हो । लेवनानले पहिलो हाफमै ४ गोलको अग्रता लिएको थियो । भुटानका लागि चेन्चो ग्याल्सेनले सान्तवना गोल फर्काएका थिए ।
लेवनानको जितमा मोहमद सादेकले ११ औं मिनेटमा सुरुवाती गोल गरे । अलि हाजको प्रहार भुटानका गोलरक्षकले फुस्काएपछि रिबाउन्डलाई सादेकले गोलमा परिणत गरेका थिए । २४ औं मिनेटमा अलि हाजले दर्शनीय गोल गरे । उनले पेनाल्टी क्षेत्र बाहिरबाट ४ भुटानी खेलाडी बिट गर्दै उत्कृष्ट गोल गरेका थिए ।
३५ औं मिनेटमा खलिल बादेरले लेवनानका लागि तेस्रो गोल गरे । कर्नरमा आएको हेडर डिफेन्डरले रोकेपनि त्यसपछि रिबाउन्डमा बादेरले गोल गरेका थिए । ४३ औं मिनेटमा मेहदी जेनले चौथो गोल गरे । पेनाल्टी क्षेत्र बाहिरबाट भएको प्रहार भुटानको डिफेन्सले रोकेपनि दोस्रो बलमा जेनले गोल गरेका थिए ।
८० औं मिनेटमा भुटानका लागि चेन्चो ग्याल्सेनले गोल गरेका थिए । दोर्जीले डिफेन्सको गल्तीमा आएको बललाई छरितो पास खेलेपछि चेन्चोले गोल गरेका थिए । त्यसअघि चेन्चोले पेनाल्टी बाहिर प्रहार गर्दा भुटानले गोल फर्काउने अवसर गुमाएको थियो ।
यस जितसँगै लेवनानको २ खेलमा ६ अंक छ । बंगलादेश र माल्दिभ्सको ३-३ अंक छ भने भुटान अंकविहिन छ । सबै टोलीको सेमिफाइनलमा पुग्ने सम्भावना जीवित छ । अन्तिम खेलमा लेवनानले माल्दिभ्स र बंगलादेशले भुटानको सामना गर्नेछ ।
बंगलादेशले साफ च्याम्पियनसिपमा हराएको यो २० वर्षपछि पहिलो पटक हो । बंगलादेशले आफ्नो दक्षिण एसियाली छिमेकीलाई अन्तिम पटक सन् २००३ हराएको थियो ।