आणविक शक्तिमा अस्थिरता ‘राम्रो कुरा नरहेको’ भन्दै युरोपेली सङ्घ (ईयू) का शीर्ष कूटनीतिज्ञले रुसमा देखिएको वाग्नर समूहको विद्रोहले युक्रेनमा जारी रुसी आक्रमणले रुसको शक्तिलाई विभाजित गरिरहेको देखाएको बताएका छन् ।
युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले भने, “यो सप्ताहन्तमा जे भएको छ, त्यसले युक्रेनविरुद्धको युद्धले रूसी शक्तिलाई ध्वस्त पारिरहेको छ र यसको राजनीतिक प्रणालीलाई प्रभावित गरिरहेको छ भन्ने देखाउँछ ।”
“रुसजस्तो आणविक शक्ति अस्थिरताको चरणमा जान सक्छ भन्ने कुरा पक्कै पनि राम्रो होइन । यो पनि ध्यानमा राख्नुपर्ने कुरा हो,” बोरेलले पत्रकारहरूसँग भने ।
“सबैभन्दा महत्वपूर्ण निष्कर्ष के हो भने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध सुरु गरेको युद्ध र पुटिनले वाग्नरसँग मिलेर बनाएको अस्वभाविक गठजोडले पुटिन स्वयंमाथि औँला ठडाएको छ,” उनले भने ।
बोरेलले भने, “अस्वभाविक शक्ति संरचनाले आफ्ना सर्जकविरुद्ध काम गरिरहेको छ, राजनीतिक प्रणालीले कमजोरी देखाइरहेको छ र सैन्य शक्ति ध्वस्त भइरहेको छ ।”
लक्जेम्बर्गमा भएको आफ्नो नियमित बैठकमा इयूका विदेशमन्त्रीहरू विद्रोहबाट उत्पन्न परिणामको मूल्याङ्कन गर्दै यसलाई स्वभाविक परिणाम बताएका छन् ।
स्विडेनका विदेशमन्त्री टोबियास बिलस्ट्रोमले अशान्ति रूसको आन्तरिक मामिला भएको बताए ।
उनले ‘सबैभन्दा महत्वपूर्ण कुरा’ भनेको युक्रेनलाई समर्थन गर्नु रहेको बताउँदै पछिल्ला परिणामले युक्रेनले आफ्नो भूभाग फिर्ता लिन सक्ने पुष्टि गरिरहेको बताए ।