दक्षिण कोरियालीहरू एक वर्ष कान्छा भए

अन्तर्राष्ट्रिय मापदण्डअनुसार चल्ने उद्देश्यले दक्षिण कोरियाले आफ्नो परम्परागत उमेर गणना गर्ने विधि त्याग्ने निर्णय गरेको छ । जसका कारण मानिसको उमेर डेढ वर्षले घट्ने अनुमान गरिएको छ ।

बुधबारदेखि लागू भएको यो कानूनले छुट्टाछुट्टै व्यवस्थाका कारण उत्पन्न हुने सामाजिक दुविधा र आर्थिक भार कम गर्ने अपेक्षा गरिएको छ । गत वर्ष पदभार ग्रहण गरेका राष्ट्रपति युन-सुक-ओल यो परिवर्तनको कडा समर्थक हुन्।

त्यसो त कोरियामा उमेर परिवर्तनको योध प्रयास पहिलो होइन । २०१९ र २०२१ मा पनि उमेर प्रणालीलाई एकीकरण गर्न विधेयक ल्याइएको थियो तर त्यतिबेला कोरियाली सभामा उक्त विधेयकले समर्थन पाएन ।

कोरियामा उमेर गणनाको अन्तरराष्ट्रिय प्रणाली थिएन भन्ने होइन, अहिले यसले कानुनी स्वरूप पाएको मात्र हो । यथार्थ के हो भने दक्षिण कोरियामा उमेरको वर्ष गणना गर्ने तीनवटा प्रणाली एक साथ चलिरहेको छ।

सांसदहरूले गत वर्ष डिसेम्बरमा यो स्थिति परिवर्तन गर्न अन्तर्राष्ट्रिय प्रणालीलाई आधिकारिक रूपमा प्रयोग गर्ने पक्षमा मतदान गरे। यद्यपि यो नयाँ ऐन बनेपछि समस्या समाधान हुन्छ कि नयाँ अन्योल खडा हुन्छ भन्ने प्रश्नको उत्तर आउन बाँकी नै छ ।

उमेर गन्ने कोरियाली विधि अनुसार त्यहाँ यो गन्ती गर्भमा आएलगत्तै सुरु हुन्छ । अर्थात् प्रत्येक दक्षिण कोरियाली नागरिक जन्मने बित्तिकै एक वर्षका हुन्छन । उमेरमा अर्को वर्ष जन्मदिनमा होइन जनवरी १ मा थपिन्छ ।

यसको अर्थ के हो भने यदि कसैको जन्मदिन डिसेम्बर ३१ मा हो भने कोरियन प्रणाली अनुसार जनवरी १ मा उसको उमेर दुई वर्ष हुनेछ। यसैगरि उमेर गन्ने अर्को तरिका छ जसमा बच्चाको उमेर जन्मको दिन शून्य हुन्छ तर जनवरीको पहिलो दिन एक वर्ष मानिन्छ ।

कोरियामा १९६० देखि नै चिकित्सा र कानुनी कागजातहरूलमा अन्तर्राष्ट्रिय प्रणाली प्रयोग गरिदै आएको छ , जसमा जन्मको उमेर शून्य र पहिलो वर्षलाई जन्मदिनबाट गणना गरिन्छ।

यद्यपि त्यहाँ सामान्य जीवनमा मानिसहरूले परम्परागत पद्धति छोडेनन् । २०२२ को सेप्टेम्बरमा गरिएको सर्वेक्षणमा ८६ प्रतिशत जनताले कानून बनेपछि अन्तर्राष्ट्रिय प्रणाली मात्र प्रयोग गर्न चाहेको बताएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार