गायक रोविन तामाङकाे निधन

गायक एवं कलाकार रोविन तामाङको निधन भएको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-५ विष्णुमति चिस्यानीस्थित घरमा उनको निधन भएको हो ।

प्रहरी प्रभाग बुढानिलकण्ठका प्रहरी निरीक्षक दिपेन्द्र चन्दका अनुसार मंगलबार साँझ ६ बजे प्रहरी कन्ट्रोलमा फोन आएको थियो । रोविनले फोन नउठाएको भन्दै प्रहरी कन्ट्रोलमा फोन आएपछि प्रहरी निरीक्षक चन्दसहितको टोली उनको घरमा पुगेको थियो ।

उनका अनुसार सुरूमा रोविनलाई उनकी श्रीमतीले पटकपटक फोन गरेकी थिइन् । उनी बाहिर गएर फर्किने बेलामा घरको गेट लगाइएको थियो । रोविन दोस्रो तलामा बस्थे । उनकी श्रीमतीले बारम्बार फोन गर्दा र बोलाउँदा पनि रोविनले कुनै प्रतिक्रिया दिएनन् ।

त्यसपछि उनकी श्रीमतीले रोविनकी दिदीलाई फोन गरेकी थिइन् । दिदीले पनि रोविनलाई बारम्बार फोन गर्दा पनि नउठाएपछि उनैले प्रहरी कन्ट्रोलमा फोन गरेर जानकारी दिएकी हुन् ।

‘उहाँ माथिल्लो तलामा बस्नुहुने रहेछ । दुई तलाको घर हो । बाहिरबाट मुख्य गेट पनि बन्द नै थियो,’ घटनास्थल पुगेका प्रहरी निरीक्षक चन्दले भने, ‘हामीले बाहिरबाट भर्‍याङ लगाएर झ्यालबाट हेर्‍यौं । खाटको छेउमा घोप्टो परेर सुतेको अवस्थामा हुनुहुन्थ्यो ।’

रोविन लडिरहेको देखेपछि बचाउन सकिन्छ भनेर ढोका फोडेर प्रहरी र आफन्त कोठामा पसेको उनले बताए । ुतर शव हेर्दा चिसो भइसकेको थियो,’ उनले भने, ‘घटनास्थलमा शंकास्पद केही पनि छैन । खाट र कोठा सबै सफा नै थियो । मुख्य गेट, माथिको ढोका पनि बन्द नै थियो। शंकास्पद केही पनि छैन ।’

उनको मृत्युको कारणबारे पोस्टमर्टमबाट खुल्ने उनले बताए । पोस्टमर्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको छ ।

उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो । नेपाली रक जनराको गीतको विकासमा उनको योगदान उल्लेख्य मानिन्छ ।

सम्बन्धित समाचार