डोल्पा । तीन जिल्लाको संगम स्थल त्रिवेणी ! जहाँ राज्यले मुस्किलले कच्ची सडक पुर्याएको छ । चारैतिर ठूला पहाडको बीचमा ठूलो भेरी नदीको छालसँगै जोडिएको रुकुम पश्चिम आठबीसकोट नगरपालिका–६ त्रिवेणी गाउँ पुग्दा जो कोहीलाई पनि एक छिन अनौठो लाग्छ ।
भेरी नदीले छाल हान्दा सिधैँ घरको जगमा पर्दा यहाँका सर्वसाधारणहरु रातभेरी सुत्न नपाउने गरेको जगदुल्ला जलविद्युत् आयोजनाका सुपरभाइजर सुमन बिसीले बताए । आफूहरु पनि ठुलो पानी परेको समयमा रातभरि निन्द्रा नलाग्ने गरेको उनको भनाइ छ । करिब ५० घर रहेको त्रिवेणी तल्लो डोल्पाको व्यापारिक केन्द्र पनि हो । भेरी करिडोर सडक आयोजनाको डोल्पाको सुरुवात बिन्दुसमेत यही त्रिवेणी रहेको छ । यहाँ शिक्षा लिनका लागि विद्यालय, औषधि उपचारका लागि स्वास्थ्य संस्था लगायतका कुराहरु लिनका लागि एक दिन नै पर्खनुपर्ने अवस्था छ ।
शान्ति सुरक्षाका लागि प्रहरी चौकी समेत नहुँदा दैनिक घटना भए पनि सबै गुपचुप मिल्ने गरेका छन् । जंगली जनावारहरु समेत दैनिक मारेर ठूलो व्यापार समेत हुने गरेको छ । तीन जिल्लाको संगम स्थलका साथै मुख्य नाका भएका कारण सबैले अवैध कारोबारदेखि सबै खालका गतिविधिहरु गर्ने स्थान यही रहेको छ । बिरामी हुँदा उपचार नपाउने वषौँ देखिको यहाँको समस्य हो । रेडियो ,सञ्चार सेवा त यहाँको लागि धेरै परको कुरा रहेको स्थानीयबासी सपना डिसीले बताइन् । त्रिवेणी हुँदै त्रिपुरासुन्दरी नगरपालिकाको खदाङ सम्मको सडकमा रहेको बस्तीमा कुनै पनि सेवा सुविधा नभएको उनको भनाइ छ । त्रिवेणीको चारैतिर ठूला चरी लड्ने भीर रहेका छन् ।
रुकुमको अन्तिम बिन्दु र डोल्पाको सुरुवातसँगै जाजरकोटको अन्तिम बिन्दु भएका कारण डोल्पाका सबै आर्थिक क्रियाकलाप यहीँबाट सुरु हुन्छ । यही बाटो भएर डोल्पा जाने एक मात्र रुट भएका कारण जनघनत्व समेत भारी मात्रामा रहेको छ । भूभाग रुकुमको भए पनि डोल्पा जाने मुख्य द्वार यही रहेको छ । जतिसुकै आर्थिक गतिविधिहरु भए पनि सामान्य औषधि पसल नहुँदा यहाँका सर्वसाधारणहरु हैरान हुँदै आएका छन् । भेरी नदी र जगदुल्ला नदीको बीचमा रहेको यो गाउँ हुँदै विद्युत् सेवा डोल्पा पुर्याएकाे भए पनि यहाँ बत्तीले छुन सकेको छैन ।
प्रहरी चौकी, स्वास्थ्य संस्थाका विषयमा धेरै पटक सरोकारवाला निकायसँग छलफल भई माग सम्बाेधन गर्ने बताइए पनि अहिलेसम्म पूरा हुन नसकेको हो । द्वन्द्वकालमा भएका प्रहरी चौकीहरु अहिले अर्को ठाउँमा सारिँदा आफूहरु अन्ययमा परेको त्रिवेणीका कल्धर बुढाले बताए । जगदुल्ला जलविद्युत् आयोजनाले भेरी नदीमा पुल निर्माण यही ठाउँमा गरिरहेको छ । त्यस्तै अन्य विकासका कामहरु समेत यहाँ भएपनि शिक्षा ,स्वास्थ्य र सुरक्षा जस्ता आधारभुत कुरा नहुँदा समस्य हुँदै आएको सर्वसाधाणले बताएका छन् । भूभाग रुकुम पश्चिको बसोबास डोल्पालीको भएको उनले बताए । उत्ता आठबीसकोट नगरपालिकाका मेयर रवि केसीले त्यहाँको समस्यका बारेमा जानकार भएको बताए ।