राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० ले हिंसालाई माफी दिने गरी आएको भन्दै आपत्ति जनाएकी छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई बिरोध गर्नुपर्ने कारणबारे वक्तव्य दिँदै उनले यस्तो बताएकी हन् ।
उनले राजनीतिको नाममा जिउँदै मान्छेलाई इँटाभट्टामा हालेर जलाउनेलाई बचाउन यो विधेयक ल्याइएको दाबी गरिन् ।
‘इँटाभट्टामा मान्छे जिउँदै जलाउनेलाई बचाउन ल्याएको हो ? एम्बुसलेन्सबाट थुतेर मान्छे मार्नेलाई बचाउन हो ?’, उनले सोधिन्, ‘भाला रोपेर मान्छे मार्नेलाई बचाउन हो ? यो विधेयक नेपालीको हितमा छैन ।’
उनले यो विधेयक संविधानको धारा १, २१ र ४६ विपरीत रहेको पनि बताइन् । श्रेष्ठले संसद्ले बहुमतको आधारमा यो विधेयक पारित गरे यसविरुद्ध अदालत जान आह्वान गरिन् ।
‘यो शक्ति पृथकीकरणको सिद्धान्तविपरीत छ। बुँदागत रुपमा भन्नुपर्दा संविधानको धारा १, धारा २१ र धारा ४६ विपरीत छ। संविधानविपरीतको यो विधेयक कसरी कानुन मन्त्रालयको टेबलबाट पास भयो म जान्न चाहन्छु’, उनले भनिन्, ‘यो कानुनी सिद्धान्तविपरीत, मुलुकी अपराध संहिता दफा ४१ विपरीत पनि छ । यो सर्वोच्च अदालतबाट प्रतिपादित नजिरविपरीत छ। हामी जननिर्वाचित सांसदहरु छौँ ।’
उनले नेपालमा हिंसाको च्याप्टर क्लोज भइसकेको भन्दै आगामी दिनमा हिंसालाई कुनै राजनीतिक दलको आडमा चोख्याउन नपाइने पनि बताइन् ।