श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल आज भारत ए सँग खेल्नेछ ।
डे नाइटमा खेलाइने यस खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा हुनेछ । खेल नेपाली समयअनुसार दिउँसो २ बजे सुरु हुनेछ । डे नाइट खेल भएकोले नेपाली टोलीले यस खेलका लागि आइतबार नाइटमा अभ्यास समेत गरेको थियो ।
यसअघि नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानको ‘ए’ टिमसँग ४ विकेटको हार बेहोरेको थियो ।
नेपालबाहेक अरु देशका सिनियर टिमले प्रतियोगितामा भाग लिएका छैनन्। नेपालबाहेकका टिमले युवा खेलाडी समेट्दै ‘ए’ टिम बनाएर प्रतियोगितामा सहभागी भएका छन् ।
एसियाली क्रिकेट काउन्सिल ९एसिसी० ले एसियाका एसोसिएट टिमलाई एक्सपोजर दिने उद्देश्यले आयोजना गर्ने प्रतियोगितालाई नेपालले एसिया कपको तयारीको रुपमा लिएको छ ।
एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तान र श्रीलंकामा हुने तय छ । एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।
प्रतियोगिताको अन्तिम खेलमा नेपालले युएईको ‘ए’ टिमसँग साउन ३ गते खेल्नेछ । दुई समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल साउन ७ मा हुनेछ ।
नेपाली टिम
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, पवन सर्राफ, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोरा ।
समूह ए – श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए, ओमान ए
समूह बी – पाकिस्तान ए, भारत ए, नेपाल, युएई ए