भारतमा बाढी: ४५ वर्षपछि यमुनाको पानी ताजमहल छिर्‍यो

भारतमा लगातारको वर्षापछि आएको बाढी र पहिरोले जनजीवजन कष्टकर बनेको छ । उत्तर भारतमा थप भारी वर्षाको अनुमान गरिएको छ ।

आगराको यमुना नदीले आइतबार बिहान खतराको स्तर पार गरेको छ । ४५ वर्षपछि यमुनाको पानी ताजमहलको पर्खालमा पुगेको छ ।

दिल्लीमा यमुनाको पानीको स्तर केही घटेको छ, तर यो अझै पनि खतराको चिन्ह २०५.३३ मिटर माथि बगिरहेको छ । गढमुक्तेश्वरमा पनि गंगाको जलस्तर १३ वर्षपछि पहेँलो निशानभन्दा माथि छ । ब्रजघाटमा गंगाको पानी आरती स्थल नजिकैको सिँढीमा पुगेको छ । हिमाचल प्रदेशमा पनि आइतबार धेरै जिल्लामा पानी परेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो पूर्वानुमानमा राज्यका सबै जिल्लामा भारी वर्षा हुने चेतावनी दिइएको छ । यस अवधिमा केही स्थानमा बादल फाट्ने र बाढी आउन सक्ने चेतावनी दिइएको छ । दिल्लीमा पनि तीन दिनसम्म हल्का वर्षाको सम्भावना रहेको छ ।

आइतबार उत्तर प्रदेशका अधिकांश जिल्लामा वर्षा भएको थियो । जसकारण नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ । आगराको दक्षिणी किनारमा एटमदौलाको यमुना किनारमा रहेको चेम्बरमा एकदेखि डेढ फिटसम्म पानी भरिएको छ । ताजमहलको छेउमा यमुनाको किनारमा बनेको बगैँचा बाढीले बगाएको थियो ।

यसअघि सन् १९७८ को बाढीमा यमुनाको पानी ताजमहलको तहखानेसम्म पुगेको थियो । सीमावर्ती गाउँमा पानी डुबेको छ । प्रशासनले रेड अलर्ट जारी गरेको छ ।

आइतबार हिमाचल प्रदेशका अधिकांश स्थानमा पानी परेको छ । मण्डीमा घरको छाना खस्दा दुई जनाको मृत्यु भएको छ भने पदयात्रा गर्न गएका दुई जनाको शव हिउँमा पुरिएको अवस्थामा फेला परेको छ ।

रातभरको वर्षाका कारण बद्रीनाथ र हेमकुण्ड यात्राका १५ सयभन्दा बढी तीर्थयात्री अलपत्र परेका छन् ।

सम्बन्धित समाचार