एसीसी इमर्जिङ टिम्स एसिया कप: नेपाल भारत ए सँग ९ विकेटले पराजित

श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले पराजय भोगेको छ ।

बलियो प्रतिद्वन्द्वी भारत ‘ए’सँग नेपाल ९ विकेटको हार व्यहोर्न बाध्य भएको थियो । यसअघि नेपालले पाकिस्तासँग पनि ४ विकेटको हार भोगेको थियो । निराशाजनक प्रदर्शन गरेको नेपालको १६७ रनको स्कोर भारतले २२ ओभर १ बलमा १ विकेटको क्षतिमा भेट्टाएको हो ।

भारतको जित सजिलै पक्का गर्ने क्रममा ओपनर अभिषेक शर्माले ६९ बलमा ८७ रन बनाए। उनलाई रोहित पौडेलले कुशल मल्लको हातबाट क्याच गराएका थिए ।

त्यस्तै भारतका लागि नटआउट रहेका अर्का ओपनर साई सुद्धर्शनले ५२ बलमा ५८ रन बनाए । नटआउट रहेका तेस्रो क्रममा ध्रुब जुरेलले पनि १२ बलमा २१ रन जोडे ।

यसअघि नेपालले ३९.२ ओभर ब्याटिङ गर्दा अलआउट भएर १६७ रन बनाउन सकेको थियो । ओपनरहरु फ्लप सावित खेलमा चौथोक्रममा आएका कप्तान रोहित पौडेलले सोमपाल कामी र गुलशन झासँग मिलेर नेपालको स्कोर उठाएका थिए । उनले ८५ बलमा ६५ रनको अर्धशतकीय पारी खेल्ने क्रममा ७ चौका पनि हानेका थिए । रोहितपछाडि नेपालका लागि ३० बलमा ३८ रनको पारी खेले। उनले २ चौका र २ छक्का पनि हानेका थिए ।

त्यसैगरी देव खनालले १५ र सोमपाल कामीले १४ रनको योगदान दिए । अन्य नेपाली खेलाडीको प्रदर्शन निराशाजनक रह्यो ।

टेस्ट मान्यता प्राप्त छिमेकी राष्ट्रको ‘ए’ टिमविरुद्ध पहिले टस जितेर ब्याटिङमा उत्रिएको नेपालले पाकिस्तानविरुद्धकै कमजोरी दोहोर्‍याएको थियो ।

भारतका लागि निशान्त सिन्धुले सर्वाधिक ४ विकेट लिए। त्यस्तै राजाबर्द्धन हंगरकेकरको नाममा ३ विकेट र हर्षित रानाको नाममा २ विकेट रह्यो।

पहिलो प्रतिस्पर्धात्मक खेलमा पाकिस्तानसँग ४ विकेटले पराजित नेपालले भारतलाई टक्कर दिने अपेक्षा थियो। तर नेपालको बलिङ र ब्याटिङ दुवै चल्न सकेन।

उता भारत लगातार दोस्रो जितसहित सेमिफाइनल पुगेको छ । नेपालले अन्तिम चारको यात्रा असम्भव भएपछि अब अन्तिम खेल यूएईविरुद्ध खेल्नेछ ।

सम्बन्धित समाचार