त्रिभुवन आर्मी क्लबका मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तान बनेका छन् ।
नेपाल भलिबल संघको सोमबार बसेको बैठकले टोलीको कप्तानमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो। श्रेष्ठ राष्ट्रिय टोलीका ११ औँ कप्तान हुन् ।
सातौँ प्रधानमन्त्री कप महिला तथा पुरुष एनभिए राष्ट्रिय भलिबल क्लब लिग अन्तर्गत गण्डकी प्रदेशविरुद्ध खेलका क्रममा दर्शकमाथि हातपात गरेपछि संघले तत्कालीन कप्तान हरिहजुर थापालाई कप्तानबाट पदमुक्त गरेको थियो ।
घटनाका बारेमा छानबिन गर्न बनेको ५ सदस्यीय समितिले बुझाएको प्रतिवेदन र त्यसले दिएको सुझावका आधारमा भलिबल संघको कार्यसम्पादन समितिको बैठकले थापालाई कप्तानबाट हटाउने निर्णय गरेको थियो ।
संघले गत महिना मात्र सेटर थापालाई राष्ट्रिय टोलीको कप्तानमा नियुक्त गरेको थियो । हरिहजुरको कप्तानीमा नेपालले कीर्गिस्तानमा काभा नेसन्स लिग खेलेको थियो ।