काठमाडौं महानगरपालिकाले फिल्मको पोष्टर टाँसेर प्रदूषण गरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । महानगरपालिकाले नेपाली चलचित्र ‘बगान’को निर्माण कम्पनीले जथाभावी टाँसेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।
फिल्मको निर्माण कम्पनी नेपाली वेवसाइट मिडिया हाउस प्रालिलाई महानगर प्रहरी बलले प्रशासनिक दण्ड जरिवाना अन्तर्गत जरिवाना गरेको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । ‘दुष्य प्रदूषण र फोहोरमैला गरेको भन्दै जरिवाना तिराएका हौं, महानगरभित्र जथाभावी पोष्टर टाँस्न पाइँदैन,’ पाण्डेले भने ।
५० हजार रुपैयाँ जरिवाना बुझाएपछि बगानका निर्माता सुरेश वाग्लेले मेयमर बालेन्द्र शाह ‘बालेन’सँग सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन् ।
‘बालेनजी, हिन्दी फिल्म आदिपुरूषलाई त रोक्नु भयो, नेपालीलाई पनि सहयोग गर्नु भएन’, उनले भनेका छन्, ‘कम्तीमा अवरोध नगरिदिनुस् । बाँकी कुरा मिडियाप्रेमी महानगर प्रहरी प्रमुख राजु पाण्डेजीलाई सोध्नुस् ।’
उता महानगरीय प्रहरी प्रमुख पाण्डेले बगानका निर्माता र वितरकलाई नराम्रो व्यवहार नगरेको जिकिर गरे ।
उनले कुनै पनि पोस्टरले सहर कुरुप नहोस् भनेर सचेत गराइएको बताए । आफूले कुनै मिडियाका मान्छे पनि नबोलाएको दाबी गरे । आफूले कुनै दुर्व्यवहार नगरेको पनि दाबी गरे ।