स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एकै दिन काठमाडौँ उपत्यकामा १०१ वटा फार्मेसी (औषधि पसल) को अनुगमन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशन अनुसार मन्त्रालयले २० वटा टोली बनाएर सोमबार उपत्यकाका विभिन्न क्षेत्रमा अनुगमनका लागि खटाएका थिए ।
फार्मेसीहरूले फर्मासिस्टको प्रमाणपत्र भाडामा लिएर अर्कै व्यक्तिलाई कर्मचारी बनाएर फार्मेसी चलाइरहेको, औषधि व्यवस्था विभागले तोकेका मापदण्ड पुरा नगरेको र अनुमति नलिएर समेत फार्मेसी चलाइरहेको गुनासो आएपछि मन्त्री बस्नेतले देश भरि नै फार्मेसीहरूको अनुगमनलाई व्यापकता दिन औषधि व्यवस्था विभागलाई निर्देशन दिएका तिए । उपत्यकामा गरिएको अनुगमनमा खटाइएका टोलीले नियम विपरीत सञ्चालित १० वटा फार्मेसीलाई सिल गरेको छ भने दुई दर्जनभन्दा बढीलाई सचेत पत्र दिएको छ ।
अनुगमन टोलीले सोमबार साँझ मन्त्री बस्नेत समक्ष टोलीले गरेको अनुगमन र फार्मेसी सञ्चालनको अवस्थाका विषयमा जानकारी गराएका छन् । अनुगमन टोलीका संयोजकहरूका अनुसार अर्कै फर्मासिस्टको सर्टिफिकेट राखेर फार्मेसी चलाइरहेकोको सङ्ख्या उल्लेख्य छ । त्यसैसरि बिक्री वितरण गर्ने अनुमति नै नल्याएर न्युटास्युटिकल सामग्रि पनि फार्मेसीबाट बिक्री वितरण गर्ने गरेको, म्याद गुज्रिएका औषधिको भण्डार अलग गरेर नराखिएको, दर्ता नै नभएका र सरसफाइमा ध्यान नदिएको जस्ता साझा समस्या देखिएको छ ।
अनुगमनमा संलग्न डा. हेमन्त ओझाले आफूहरूले निरीक्षणको क्रममा दर्ता नै नगरी फार्मेसी सञ्चालन गरिरहेको पाएपछि सिल गरेको बताए । गोकर्णेश्वरमा दर्ता नै नगरिएका औषधि पसल फेला परेपछि दुई वटा सिल नै गरिएको अर्का टोलीका संयोजक सागर दाहालले बताए ।