क्रिस्टियना जिरेलीले खेलको अन्त्यतिर गरेको निर्णायक गोलको मद्दतले इटालीले वुमेन्स वर्ल्डकपमा सोमबार अर्जेन्टिनालाई १–० ले हराएको छ ।
खेल गोलरहित बराबरीतर्फ अग्रसर भइरहेका बेला जिरेलीले ८७ औं मिनेटमा गोल गरेकी थिइन् । त्यसअघि ८३ औं मिनेटमा उनी सब्स्टिच्युट खेलाडीका रूपमा मैदान छिरेकी थिइन् ।
यस जितपछि स्वीडेनसँगै इटाली समूह ‘जी’ को शीर्ष स्थानमा रह्यो । यसै खेलमा इटालीकी जिउलिआ ड्रागोनी वुमेन्स वर्ल्डकपमा खेल्ने सबैभन्दा कान्छी खेलाडीमध्ये एक भइन् ।
विश्वकपमा अर्जेन्टिनाको सामना गरिरहँदा उनको उमेर १६ वर्ष २ सय ५९ दिन मात्र पुगेको थियो । पछिल्लो जुलाइमा मात्र उनले इटालीका लागि डेब्यु गरेकी थिइन् ।