एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ मा

नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । आइतबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले असार १६ गते बिहान ११ बजे दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

आजको बैठकमा समसामयिक राजनीतिक विषय, कोभिड १९ नियन्त्रणको पहल, प्राकृतिक विपत्ति र राहत, पुनस्र्थापना तथा पूर्व तयारीका विषयमा समेत छलफल भएको प्रवक्ता ज्ञवालीले बताए । १६ गते काठमाडौंमा बस्ने बैठकले पार्टीभित्रका असन्तुष्ट नेताहरुको विषयमा समेत ठोस छलफल गर्ने बताइएको छ । अहिले असन्तुष्ट नेता माधवकुमार नेपाल पक्षका दोस्रो तहका नेताहरुसँग संवाद र छलफल जारी रहेकाले त्यसबारेमा समेत समीक्षात्मक छलफल हुने प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

एमालेको गत फागुन २८ गतेको बैठकले एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतले यसअघि आफ्नो फैसलामा एमाले महाधिवेशन आयोजक कमिटीले गरेको निर्णयलाई मान्यता नदिएपछिको अवस्थाका बारेमा समेत आजको बैठकमा छलफल भएको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार