नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्स ग्लोबल टी-२० क्यानडाको फाइनलमा पुगेको छ ।
गएराति भएको दोस्रो क्वालिफायरमा भ्यानकुभेर नाइट्सलाई १ विकेटले हराउँदै दीपेन्द्रको टोली फाइलनमा पुगेको हो । १ सय ३८ रनको लक्ष्य मोन्टरिएलले १९।३ ओभरमा ९ विकेट गुमाउँदै भेट्टायो ।
शेर्फान शरदरफोर्ड ४८ रनमा नटआउट रहे । दीपेन्द्रसिंह ऐरी २५ रनमा बोल्ड आउट भए । आयन खान १८, आन्द्रे रसेल १७ र मोहम्मद वासिमले १३ रन थपे ।
त्यसअघि मोन्टरियलले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नाइट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३७ रनको योगफल तयार पारेको थियो । ओपनर मोहम्मद रिजवान ३९ रनमा आउट भए। कब्रिन बोसले ३६ र हर्ष ठाकेरले २६ रन थपे ।
टाइगर्सले उपाधिका लागि आज राति पौने १० बजे नेपाली टोलीकै लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्ससँग खेल्नेछ ।
सन्दीपको टोलीले पहिलो क्वालिफायर खेलमा नाइट्सलाई ३८ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।