गण्डकीमा दुुई मन्त्रीलाई दिइयो जिम्मेवारी, आचार्यले लिन मानेनन् उर्जा मन्त्रालय

गण्डकी प्रदेशमा गत जेठ २९ गते गठित मन्त्रिपरिषद्का सदस्यलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीद्वय कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालयको जिम्मेवारी सुम्पिएकी छन् ।

मन्त्री खड्कालाई शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालय तथा अधिकारीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अन्य मन्त्रालय मुख्यमन्त्री मातहत नै छन् । विनाविभागीय रहेका मन्त्री हरिशरण आचार्य र राजीव गुरुङलाई जिम्मेवारी दिइएको छैन ।

जसपाबाट सरकारमा सहभागी विना विभागीयमन्त्री आचार्यलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र अर्का विना विभागीय मन्त्री दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी लिन प्रस्ताव गरेका थिए ।

तर अर्थ मन्त्रालयमा दाबी गरेका आचार्यले उर्जाको जिम्मेवारी लिन अस्वीकार गरेका छन् । ‘उहाँहरुले जे–जे भन्यो हामीले त्यो मानिदिनुपर्ने, हामीले भनेको केही पनि मान्नु नपर्ने ?,’ उनले प्रश्न गरे, ‘हामी कांग्रेसको कार्यकर्ता भएर सरकारमा सहभागी भएको त होइन । जनता समाजवादी पार्टीको हैसियतमा उहाँले सम्मान गर्नुपर्छ ।’

मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिनुभन्दा अघि कांग्रेसले चारबुँदे सहमति गरेको थियो, जसमा जसपालाई अर्थसहित दुई मन्त्रालय दिने उल्लेख थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार