तीन नयाँ खेलाडी समेटेर नेपाली महिला क्रिकेट टोली घोषणा

आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटका लागि तीन नयाँ खेलाडी समेट्दै नेपाली क्रिकेट टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले युवा अलराउन्डर पूजा महतो, विकेटकिपर रुवी पोदार र लेग स्पिनर खुशी डंगोललाई पहिलो पटक टोलीमा समेटेको हो ।

भारतमा हुर्किएकी पुजाले नेपालमा घरेलु प्रतियोगिता खेलेकी छैनन्। यू–१९ क्रिकेट खेलिसकेकी खुशी डंगोलले घरेलु प्रतियोगिता बागमती प्रदेशबाट खेल्ने गर्थिन् । सुदूरपश्चिमबाट घरेलु प्रतियोगिता खेल्ने रुवीले ओपनिङदेखि तल्लोक्रमसम्म ब्याटिङ गर्ने क्षमता राख्छन् ।

नेपालले यसअघि एसिसी इमर्जिङ टिम्स महिला प्रतियोगिता खेल्दाको टोलीबाट स्पिनर कृतिका मरासिनी, ज्योति पाण्डे र सरस्वती चौधरीलाई बाहिर राखेको छ ।

आइसीसी वुमन्स विश्वकप टी–२० एसिया क्षेत्र छनोट मलेसियामा भदौ १४ देखि २३ गतेसम्म हुनेछ ।

समूह ए मा नेपालसँगै आयोजक मलेसिया, बहराइन, भुटान, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, कुवेत, थाईल्यान्ड र म्यानमार छन् ।

समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल क्वालिफायर खेल्नेछ ।

नेपाली टोली :
रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल ।

सम्बन्धित समाचार