टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छानियो ‘गाउँ आएको बाटो’

नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा छनोट भएको छ । निर्माण टोलीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै छनोटबारे जानकारी दिएको हो ।

टोरन्टोको यो संस्करण सेप्टेम्बर ७ देखि १७ तारिखसम्म चल्ने छ । नवीन सुब्बाले निर्देशन गरेको उक्त चलचित्र राई जातिको सामाजिक पृष्ठभूमिमा तयार भएको छ भने गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढाव देखाइएको छ ।

चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारले अभिनय गरेका छन् । महेश राई र निर्देशक सुब्बाले कथा लेखेको चलचित्रमा जोस हेरमले छायांकन, क्वान पुन लिउङले सम्पादन र हेडी लिले स‌ंगीत भरेका छन् ।

निर्देशक सुब्बाले निर्देशन थालेको पहिलो चलचित्र ‘खाङ्ग्री’ नै पहिलोपटक अन्तर्राष्ट्रिय बजारमा पुगेको थियो । यसअघि उनीद्वारा निर्देशित ‘नुमाफुङ’ फुकुओका, गोटेवर्ग, सन्फ्रान्सिस्कोजलगायत थुप्रै अन्तर्राष्ट्रिय महोत्सवमा छनोट भइसकेका छन् ।

 

सम्बन्धित समाचार