रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा अल नासरले जित्यो अरब क्लब च्याम्पियन्स कपको उपाधि

पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा अल नासारले अरब क्लब च्याम्पियन्स कप २०२३ को उपाधि जितेको छ ।

शनिबार राति किङ पद स्टेडियममा भएको फाइनलमा अल नासारले अतिरिक्त समयमा अल हिलालविरुद्ध २–१ को कठिन जित हासिल गर्दै उपाधि हात पारेको हो ।

च्याम्पियन अल नासारको जितमा कप्तान रोनाल्डोले दुई गोल गरे । अल हिलालका माइकलले गरेको गोल सान्त्वना बन्न पुग्यो ।

खेलको ५१औं मिनेटमा माइकलको गोलमा अल हिलाले सुरुवाती अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा हार भोग्न बाध्य भयो ।

खेलको ७०औं मिनेटमा अल नासार १० खेलाडीमा समेटिएको थियो । अब्दुल्लाह अल एम्रीले सिधै रातो कार्ड खाँदै मैदान छाडेका थिए ।

खेलको ७४औं मिनेटमा रोनाल्डोको गोलमा अल नासार खेलमा फर्किएको थियो ।

जितका लागि सर्घष गरिरहेको अल नासारका वैकल्पिक खेलाडी नवाफ बौसल पनि रातो कार्ड खाँदै मैदान छाडेपछि टोली दबाबमा परेको थियो ।

निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा रोनाल्डोले गोल गर्दै टोलीलाई पुनरागमन जित दिलाए । त्यसको केही समयपछि चोटका कारण रोनाल्डोले मैदान छाडेका थिए । रोनाल्डोले समूह चरण बाहेकका सबै खेलमा गोल गरेका छन् ।

सम्बन्धित समाचार