फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले ब्राजिलियन फरवार्ड नेइमारलाई साउदी प्रो लिग क्लब अल-हिलाललाई ९० मिलियन युरोमा बेच्ने सम्झौता गरेको छ ।
३१ वर्षीय नेइमारको अब मेडिकल र आवश्यक कागजी प्रक्रिया पूरा गर्न बाँकी रहेको बिबिसीले जनाएको छ ।
२०१७ मा विश्वकीर्तिमानी शुल्क २२२ मिलियन युरोमा पिएसजीमा आवद्ध भएका नेइमारले शनिबार लिग वानको पहिलो गुमाएका थिए । उनलाई नयाँ सिजनका लागि प्रशिक्षक लुइस एनरिकले आफ्नो योजनाको हिस्सा बनाएका थिएनन् । नेइमारले फ्रान्सेली क्लबबाट वार्षिक २५ मिलियन युरो कमाउने गरेका थिए ।
नेइमार सम्झौताको खबर पिएसजी र फरवार्ड केलियन एमबाप्पेबीच सकारात्मक वार्तापछि आएको हो । एमबाप्पे पहिलो टोलीको प्रशिक्षणमा पुन: समावेश भएको २४ घण्टापछि नेइमार साउदी जाने पक्का भएको हो ।
गत महिना साउदी क्लबले विश्व कीर्तिमानी २५९ मिलियन पाउन्डको प्रस्तावपछि पिएसजीले अल-हिलाललाई एमबाप्पेसँग कुरा गर्न अनुमति दिएको थियो ।
यो सिजन करिम बेन्जेमा, एन’गोलो कान्टे, जोर्डन हेन्डरसन, रुबेन नेभ्स, साडियो माने र रोबर्टो फिरमिनोजस्ता साउदी अरब गएका छन् ।
पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो गत जनवरीमा म्यानचेस्टर युनाइटेडबाट अल-नासरमा आवद्ध भएका थिए ।