सरकारले प्रगतिशील गायक स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय लिएको हो ।
पर्यटनमन्त्रालयको प्रस्तावमा सरकारले उक्त निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
२००१ कात्तिक १५ गते धरानको पुरानो बजारमा जन्मिएका जुठबहादुर खड्गी (जेबी टुहुरे)ले गीत संगीतको क्षेत्रबाट नेपालको लोकतान्त्रिक आन्दोलनलाई माथि उठाउन योगदान गरेका थिए । उनले गाएका ‘बसाइँ हिंड्नेको ताँतीले’, ‘आमा दिदी बैनी हो’ जस्ता गीतहरु कालजयी छन् ।
गायक टुहुरेको ७८ वर्षको उमेरमा २०७८ भदौ १० गते बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । निधनको २ वर्षपछि सरकारले उपाधि दिएको हो ।
२० वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय उनले सयौं संख्यामा जनवादी गीत गाएका छन् । टुहुरेले १ सय ५० भन्दा बढी जनवादी गीत रेकर्ड गराएका छन् । टुहुरे दोस्रो संविधानसभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बनेका थिए ।