धादिङ दुर्घटनाका चालक भन्छन ‘म्याजिक जोगाउँदा गाडी त्रिशुलीमा खस्यो’

दुर्घटनामा ८ जनाको मृत्यु, ८ जना गम्भीर

बुधबार धादिङको गजुरीस्थित चालिसे झरनाबाट त्रिशुलिमा खसेको बसका चालकले म्याजिक जोगाउन खोज्दा दुर्घटना भएको बयान दिएका छन् ।

काठमाण्डौको गोंगबुबाट म्याग्दीको बेनीका लागि छुटेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस ११ बजेर ३० मिनेट जाँदा सडकबाट त्रिशुलीमा खसेको थियो । दुर्घटनामा ८ जनाको निधन भएको प्रहरीले पुष्टि गरेको छ भने अन्य १२ जनाको अवस्था गम्भीर रहेको छ ।

घटनास्थलमा रहेका गजुरी गाउँपालिका उपाध्यक्ष शर्मिला बिसुरालका अनुसार गजुरी सामुदायिक अस्पताल र मलेखु शिक्षण अस्पतालले मृतक घोषणा गरेका ६ जनाको शव पानीमा डुबेको अवस्थामा भेटिएको थियो । बाँकी दुई जनाको उपचारको क्रममा निधन भएको हो । गम्भीर अवस्थाका घाइतेको थप उपचारका लागि काठमाण्डौ पठाइएको छ ।

दुर्घटनास्थलमा घाइते अवस्थामा भेटिएका चालकले आफुले पहिलो पटक उक्त गाडी चलाएकाले गाडी नम्बर समेत थाहा नभएको बताए । आज उक्त गाडीका चालक नभएकाले आफुले चलाएको गाडी धादिङको चालिसे झरना आइपुग्दा विपरित दिशाबाट तीव्र गतिमा आएको म्याजिकका कारण दुर्घटनामा परेको बताए । तीव्र गतिमा सन्तुलन गुमाउन लागेको म्याजिकलाई जोगाउन खोज्दा बस त्रिशुलिमा खसेको उनको भनाई छ ।

घाइतेहरुलाई स्थानीय गजुरी सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाण्डौ पठाउने तयारी छ ।

सम्बन्धित समाचार