क्रोएसियालाई हराउँदै स्पेन क्वाटरफाइनलमा

क्रोएसियालाई ५-३ ले पराजित गर्दै स्पेन युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा ८ गोल हुँदा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा पराजित गरेको हो । निर्धारित समयको खेल ३-३ को बराबरी भएपछि स्पेनले अतिरिक्त समयमा दुई गोल गर्दै खेल जितेको हो ।

युरोकपमा एक खेलमा भएको यो दोस्रो धेरै गोल हो । यसअघि सन् १९६० को पहिलो संस्करणको पहिलो खेलमै फ्रान्स र युगोस्लाभियाबीचको खेलमा ९ गोल भएको थियो ।

रोमाञ्चक खेलमा स्पेनलाई जित दिलाउन पाब्लो साराबिया, सेजार एज्प्लिकुएटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओजाबायाले एक–एक गोल गरे । क्रोएसियाका लागि मिस्लास ओरिसिच र मारियो मासालिचले एक–एक गोल गरे । स्पेनले एक गोल उपहार दिएको थियो ।

पहिलो हाफमा क्रोएसियाले अग्रता लिनुअघि स्पेनले एकतर्फी आक्रमण गर्दै क्रोएसियालाई दबाबमा राखेको थियो । क्रोएसियाले बिरलै स्पेनको हाफमा बल लगेको खेलमा आत्मघाती गोलले नै खेलको रुप परिवर्तन भएको थियो । तर अन्त्यतिर गोल गर्दै स्पेन पहिलो हाफमा नै खेलमा फर्कन सफल भयो ।

दोस्रो हाफमा स्पेनले आफ्नो आक्रमणलाई जारी राख्दै अग्रता लिन सफल भयो । अग्रता लिएपछि क्रोएसियाले केहि अवसर सिर्जना गरेपनि स्पेनको डिफेन्सले बलियो प्रदर्शनका साथ खेलमा अग्रता कायम राख्यो ।

सम्बन्धित समाचार