पाँच नेपाली क्रिकेटर अस्ट्रेलियाको घरेलु लिग बिग ब्यासको ड्राफ्टमा

नेपाली क्रिकेट टोलीका ५ खेलाडी अस्ट्रेलियाको घरेलु क्रिकेट लिग प्रतियोगिता बिगबास (बीबीएल)को ड्राफ्टमा पर्न सफल भएका छन् ।

अष्ट्रेलियन क्रिकेट बोर्डले आयोजना गर्ने विश्वकै एक उत्कृष्ट लिगमा सन्दीप लामिछानेसहित युवा ब्याटर देव खनाल, विकेटकिपर अर्जुन साउद, ओपनर आसिफ शेख र मध्यक्रमका ब्याटर आरिफ शेख ड्राफ्टमा परेका हुन् । लामिछानेले पहिले नै बिग ब्यास खेलिसकेका छन् ।

देव खनाल नेपालका यू–१९ कप्तान समेत हुन् । अर्जुन साउद विकेटकिपर ब्याटर हुन् । अर्जुन आक्रामक क्रिकेट र उत्कृष्ट किपिङका लागि चिनिन्छन् ।

आसिफ शेख नेपाली टिमका विकेटकिपर तथा ओपनर ब्याटर हुन् । आरिफ शेख भने नेपालको लागि मध्यक्रम र फिनिसिङ ब्याटर हुन् । उनले मध्यगतिको बलिङ समेत गर्छन् ।

क्रिकेट संघले सोमबार ड्राफ्टमा परेका २९ देशका ३७६ खेलाडीको लिस्ट सार्वजनिक गरेको हो । उक्त ड्राफ्टबाट नियमित खेलाडीको सूचीमा परेका उनीहरुले आगामी सिजन २०२३-२४ को बीबीएल खेलमा सहभागी हुन पाउने छन् । बिग ब्यासको ड्राफ्ट आगमी सेप्टेम्बर ३ मा हुनेछ । बिग ब्यास आगामी डिसेम्बर ७ देखि सुरु हुनेछ ।

सम्बन्धित समाचार