एसिया कपमा नेपालको फराकिलो हार

एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानसँग नेपाल पराजित भएको छ । उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको हो । घरेलु टोलीले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा १० विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो ।

सोमपाल कामीले बनाएको २८ रन नै नेपालका लागि सर्वाधिक रह्यो। आरिफ शेख २६ र गुलसन झा १३ रनमा आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् । नेपाली टोलीका कप्तान रोहित पौडेल गोल्डेन डकआउट भए। स न्दीप लामिछाने डक आउट भए। पाकिस्तानविरुद्ध गुलसन झा र कुशल मल्लले समान एक छक्का प्रहार गरे। नेपाली टोली दोस्रो ओभरमा नै ३–१४ को अवस्थामा थियो।  चौथो विकेटका लागि आरिफ र सोमपाल कामीले ५९ रनको साझेदारी गर्दै नेपालको इनिङस् सम्हाल्ने प्रयास गरेका थिए।

आरिफ २६ रन बनाउँदा हरिश राउफको बलमा बोल्ड आउट भए। पहिलो ओभरको पाँचौं बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले अन्तिम बलमा कप्तान रोहित पौडेललाई गुमाएको थियो।

ओभरको सुरुवाती दुई बलमा लगातार चौका प्रहार गरेका भुर्तेल ओभरको पाँचौं बलमा शहिन शा अप्रिदीको बलमा विकेट किपर मोहम्मद रिजवानको हातबाट क्याच आउट भए।

कप्तान रोहित अफ्रिदी कै बलमा गोल्डेन डक आउट भए। दोस्रो ओभरको चौथो बलमा ओपनर आशिफ शेख ५ रन बनाउँदा नसिम शाहको बलमा इफिखार अहमदको हातबाट क्याच आउट भए।

नेपाललाई कम स्कोरमा रोक्न सदाव खान एक्लैले चार विकेट झारे। शहिन शा अफरिदी, हरिस राउफले समान २ विकेट लिए। नसिम शाह र मोहम्मद नवाजले समान एक विकेट लिए।

बाबर आजम र इफ्तिखर अहमदले शतकी इनिङ्स खेलेपछि पाकिस्तानले नेपाललाई जितका लागि तीन सय ४३ रनको लक्ष्य दिएको थियो । मुल्तान क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरका ६ विकेटको क्षतिमा तीन सय ४२ रन बनायो ।

पाकिस्तानका लागि बाबर र इफ्तिखरले शतकी पारी खेले। बाबरले एक सय ५१ र इफ्तिकरले एक सय नौ रन बनाए । बाबरले एक सय ३१ बलमा १४ चौका चार छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । इफ्तिखरले ७१ बलमा ११ चौका चार छक्काको सहयोगमा उक्त रन जोडेका हुन् ।

मोहम्मद रिजवानले ४४, फखार जमानले १४ रन बनाए। इमाम उल हक र अघा सलमान पाँच पाँच रनमा आउट भएका थिए । बलिङमा नेपालका सोमपाल कामीले दुई विकेट लिए । करण केसी र सन्दीप लामिछानेले एक एक विकेट लिए ।

सम्बन्धित समाचार