जर्मनीलाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा

घरेलु मैदान वेम्बलीमा जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्डले युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । दोस्रो हाफमा रहिम स्टर्लिङ र ह्यारी केनले गोल गरेपछि इंग्ल्यान्ड २(० को जितसँगै राउन्ड अफ १६ चरण पार गर्न सफल रहयो ।

ठूला प्रतियोगितामा यी दुई टिम भिड्दा पछिल्लो समय जर्मनीको प्रभुत्व रहँदै आएकोमा इंग्ल्यान्डले अहिले यो सम्झनलायक जित निकालेको हो । पहिलो हाफमा दुवै टोलीले आफूले पाएको अवसर सदुपयोग गर्न नसक्दा खेल गोलरहित रहेको थियो ।

दोस्रो हाफको सुरुवातमा जर्मनीले केहि दबाब राखेपनि खेल अघि बढ्दै जाँदा इंग्ल्यान्ड खेलमा फर्किएको थियो । त्यसपछि इंग्ल्यान्डले ९ मिनेटको अन्तरमा दुई गोल गर्दै खेल आफ्नो पकडमा ल्यायो । त्यसबीचमा जर्मनीका थोमस मुलरले बराबरी गर्ने सुवर्ण अवसर खेर फाल्दा इंग्ल्यान्ड अघि बढेको हो ।

नकआउट चरणमा गेराथ साउथगेटको इंग्ल्यान्डले आफ्नो परम्परागत प्रतिद्वन्द्वीलाई हराएको यो ५५ वर्षयता पहिलो पल्ट हो । यसका लागि वेम्बलीमा उपस्थिति ४० हजार दर्शक साक्षी बने । सन् १९६६ को विश्वकप फाइनलपछि इंग्ल्यान्डले पहिलो पल्ट जर्मनीलाई ठूलो प्रतियोगिताको नकआउट चरणमा हराएको हो । यो नै इंग्ल्यान्डले हात पारेको अहिलेसम्मको सबैभन्दा ठूलो सफलता हो । इंग्ल्यान्डले अब सेमिफाइनल प्रवेश गर्न युक्रेन र स्वीडेनको विजेतासँग खेल्नेछ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार