अमेरिका बसेर मानव तस्करीमा हस्त गौतम, आधार क्षेत्र मेक्सिको

पश्चिम नेपालको रूकुम घर भई हाल अमेरिकी नागरिकता लिएका एक व्यक्तिले विभिन्न मुलुकमा एजेन्ट परिचालन गरी नेपालीलाई बेचबिखन गरेको पाइएको छ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गरेको अनुसन्धानमा त्यसरी तस्करीका मुख्य योजनाकार (नाइके) अमेरिकाको टेक्सास बस्ने अमेरिकी नागरिक ५२ वर्षीय हस्त गौतमले अहिलेसम्म दुई सय जनालाई अमेरिका पठाइसकेको खुलेको छ।

यसरी अमेरिका पठाउने क्रममा गौतमले दुई करोडभन्दा बढी ठगी गरेको पाइएको ब्यूरोका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए। उनको सुरुआती घर भने पश्चिम नेपालको रूकुमस्थित सिस्ने गाउँपालिकाको नाथीगाड हो।

गौतमका सहयोगी कमल तामाङसहितका तीन जनाविरूद्ध भने यसअघि नै पाँच मुद्दा दर्ता गरी ब्युरोले अनुसन्धान थालिसकेको छ। उनले आफ्नो आधार क्षेत्र मेक्सिको बनाई पाँच जना एजेन्टलाई नेपालसहित युनाइटेड अरब इमिरेट्स (युएई), सिंगापुर, फिलिपिन्स, थाइल्याण्ड, श्रीलं‌का, कोलम्बिया, ल्याटिन अमेरिकालगायत क्षेत्रमा परिचालन गरी मानव तस्करी गर्ने गरेको पाइएको छ।

उनीहरूबाट पीडित बनेका चार जनाको उद्धार गरिएको छ भने अझै दुई जनाको उद्धार गर्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए। ‘बाँकी १३ नेपालीलाई विभिन्न देश पठाउने भनी अलपत्र पारेको उजुरी परेको छ’, उनले भने।

उनले अमेरिका पठाउने भनी भ्रमण राहदानीको समेत दुरूपयोग गरेको पाइएको छ। गौतमले नेपाली नागरिकलाई विभिन्न देशमा पुर्‍याइ राहदानी, मोबाइलसमेत जफत गरी ठूलो मात्रामा पैसा माग गर्ने गरेका थिए।

एजेन्टले भने जति पैसा नदिए शारीरिक तथा मानसिक यातना दिने, थप पैसा माग्ने, विदेशमा रहेका एजेन्टलाई बेचबिखन गर्ने, बुझाउनेजस्ता क्रियाकलाप गरी नेपाली नागरिकलाई अलपत्र पार्ने गरेको पाइएको छ। गौतममाथि मानव बेचबिखन, ओसारपसार तथा संगठित अपराध मुद्दामा अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हस्त गौतमविरुद्ध सन् २००५ देखि नै प्रहरी कार्यालयहरूमा मानव तस्करी आरोपमा उजुरी परेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई लामो समयदेखि खोजिरहेको थियो ।

तर, उनी अमेरिका पुगिसकेको खुलेपछि उनलाई पक्राउ गर्न प्रहरीको टाउको दुखाइको विषय बन्यो । अझ उनी अमेरिका नै बसेर मानव तस्करीको धन्दामा सक्रिय रहेको तथ्य खुलेपछि प्रहरीलाई पक्राउ गर्न थप चुनौती बनेको थियो ।

२००५ देखि नै उनी नेपाल आउन छाडेका थिए । उनी आफैँ पनि अवैध बाटो हुँदै अमेरिका छिरेका हुन् । त्यही कारण अवैध बाटोबारे उनलाई राम्रो जानकारी मिलेको हो ।

पछिल्लोपटक उनी अमेरिका हुँदै मेक्सिको र त्यहाँबाट दिल्ली आएका थिए । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धानको टोली उनको ट्राभल रेकर्डको अनुसन्धानमा थियो । केही दिनअघि उनी फेरि नेपालीलाई अमेरिका लिने उद्देश्यले भारतीय हुँदै स्थलमार्ग प्रयोग गरेर रुकुम पुग्न खोजे । त्यहीक्रममा उनी बेलहिया नाकाबाट पक्राउ परेका हुन् ।

सम्बन्धित समाचार