दक्षिण एसियामा फैलिएको डेंगु

डेंगुको संक्रमणले बंगलादेश र नेपालसहित सिंगो दक्षिण एसियामा समस्या निम्त्याइरहेको छ । विशेषगरी यी दुई देशमा संक्रमण रोकथामका प्रयासहरू खासै प्रभावकारी साबित भैरहेका छैनन्।

लामखुट्टेको टोकाइबाट फैलिएको यो संक्रमणले यो वर्ष दक्षिण एसियामा भयानक समस्या ल्याएको छ । बंगलादेशमा रेकर्ड मृत्यु भएको छ भने नेपालका नयाँ क्षेत्रमा यसको फैलावट भएको रिपोर्टहरू छन्। यो बिग्रँदै गएको अवस्था जलवायु परिवर्तनको प्रत्यक्ष असर रहेको विज्ञहरू बताउँछन् ।

यी दुई देशमा उत्पन्न हुने अवस्थालाई सम्बोधन गर्न प्रशासन लाचार छ । बढ्दो तापक्रम र लामो मनसुन सिजनले लामखुट्टेको प्रजननका लागि उपयुक्त अवस्था सिर्जना गरेको कीटविज्ञ तथा महामारीविद्हरू बताउँछन्। सन् २०२३ मा हालसम्म बंगलादेशमा मात्रै ६९१ जनाको मृत्यु भैसकेको छ ।

आधिकारिक तथ्याङ्कले सङ्क्रमित व्यक्तिको सङ्ख्या १,३८,००० भन्दा बढी रहेको देखाउँछ । सन् २००० मा पहिलो पटक यो रोग पत्ता लागेदेखि संक्रमणको हिसाबले यो सबैभन्दा खराब वर्ष हो। गत वर्ष बंगलादेशमा मृत्यु हुनेहरुको संख्या २८१ थियो ।

डेंगुको बढ्दो जोखिम

यो अवस्था दक्षिण एसियामा मात्रै होइन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर डेंगुका बिरामीको संख्यामा उल्लेख्य वृद्धि भएको छ । सन् २०२२ मा विश्वमा ४२ लाख सङ्क्रमणका घटनाहरू दर्ता भएका थिए, जुन सन् २००० को तुलनामा आठ गुणा बढी हो। डब्ल्यूएचओले केही समयअघि डेंगु जसरी फैलिरहेको छ, त्यसले महामारीको खतरा रहेको बताएको थियो ।

ढाकाको जहांगिरनगर विश्वविद्यालयका प्रोफेसर कबिरुल बशरले संक्रमण रोक्न पर्याप्त उपाय नभएका कारण एडिस लामखुट्टेको टोकाइबाट फैलिएको यो रोगले पूरै बंगलादेशलाई ग्रसित गरेको बताउँछन् । जसका कारण सेप्टेम्बरमा यो संक्रमण थप बढ्ने सम्भावना छ । जुन देखि सेप्टेम्बर सम्मको अवधिले यी लामखुट्टेको वृद्धिका लागि अनुकूल अवस्था ल्याउँछ जब धेरै ठाउँहरूमा वर्षाको पानी स्थिर हुन्छ।

बसर भन्छन् – एडिज लामखुट्टेको प्रजननका लागि मौसम एकदमै अनुकूल छ। डेंगु ढाकाको मात्र समस्या होइन, यो सिंगो देशको समस्या हो।

नेपालको अवस्था पनि नाजुक

नेपालमा डेंगुको पहिलो केस सन् २००४ मा देखिएको थियो । यो वर्ष देशका ७७ जिल्लामध्ये ७५ जिल्लामा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने २१ हजार २ सयभन्दा बढी सङ्क्रमित भएका छन् । राष्ट्रिय प्रकोप तथा रोग नियन्त्रण विभागका वरिष्ठ स्वास्थ्य अधिकृत उत्तम कोइरालाले मुलुकमा ८८ जनाको मृत्यु र ५४ हजार संक्रमित भेटिएपछि यो संख्याले सन् २०२२ को आँकडा छुने बताए ।

त्यसैगरी, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत मेघनाथ रिमाल पछिल्लो समय यो संक्रमण देशैभर तीव्र गतिमा फैलिएको बताउँछन् । डेंगुको संक्रमण नदेखिएका नेपालका अग्ला उचाइका क्षेत्रमा पनि अहिले यसको फैलावट रोक्न संघर्ष भैरहेको छ ।

उदाहरणका लागि, पहाडी पूर्वी सहर धरान अत्यन्तै प्रभावित छ, यहाँका अस्पताल र एम्बुलेन्स सेवा बिरामीहरूले भरिएका छन्। १ लाख ६० हजार जनसङ्ख्या भएको यो सहरमा अगस्ट महिनामा प्रतिदिन १७ सय संक्रमित पुगेका छन् ।

सम्बन्धित समाचार