एक भगवत् गीताको नाम ‘एक भागवत् र एक गीता’ राख्ने सहमति भएपछि टुंगियो विवाद

 ‘एक भगवत् गीता’लाई लिएर भइरहेको विवाद अन्ततः टुंगिएको छ । चलचित्र विकास बोर्डको मध्यस्थतामा भएको छलफलमा फिल्मको शीर्षक परिवर्तन गर्ने सहमतिसँगै विवाद टुंगिएको हो । सहमतिमा निर्माता सुनिलकुमार थापा र उजुरीकर्ताको तर्फबाट विभिन्न धार्मिक संघ-संगठनले हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार अब फिल्मको नाम ‘एक भागवत् र एक गीता’ (सामाजिक कथा) तय भएको छ । विवाद टुंगिएसँगै यो फिल्म अब सेन्सरको प्रक्रियामा अघि बढ्ने बताइएको छ ।

चलचित्र यहि भाद्र २९ गतेदेखि हलहरुमा प्रदर्शनमा आउँदैछ । चलचित्रको शीर्षक र चरित्र चित्रणलाई लिएर केही धार्मिक संस्थाले आपत्ति जनाएका थिए ।आपत्तिपछि दुबैतर्फबीच भएको चरणवद्ध छलफलपछि विवाद टुंगिएको हो ।

सुनिलकुमार थापाको लगानी तथा झरना थापाको निर्देशनमा तयार भएको चलचित्रमा सुहाना थापा, धिरज मगर र विपिन कार्कीको मुख्य अभिनय रहेको छ । सुहाना निर्देशन तथा निर्माता सुनिल र झरनाकी छोरीसमेत हुन् । योे चलचितमा अभिनेता विपिन कार्की तेस्रोलिङ्गीको भूमिकामा देखिएका छन् । चलचित्रमा एक बालक र एक किशोरीको प्रेम देखाउन खोजिएको छ ।

सम्बन्धित समाचार