जर्मन राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक हान्सी फ्लिक बर्खास्त भएका छन् । जर्मनीको वुल्फ्सबर्गमा शनिबार भएको मैत्रीपूर्ण खेलमा जापानसँग ४–१ ले पराजित भएपछि फ्लिकलाई जर्मनीको प्रशिक्षकबाट बर्खास्त गरिएको हो ।
युरोपियन च्याम्पियनसिप आउन एक वर्षभन्दा कम समय बाँकी रहेको अवस्थामा जर्मनीको राष्ट्रिय टोलीको प्रशिक्षक बर्खास्तमा परेका हुन् ।
उनको बर्खास्तिपछि २००० देखि २००४ सम्म टोलीको व्यवस्थापन गरेका रुडी भोलरले मंगलबार फ्रान्ससँगको मैत्रीपूर्ण खेलको लागि अस्थायी जिम्मेवारी लिएका छन् । जर्मनीका पूर्व स्ट्राइकर ६३ वर्षीय भोलरलाई फेब्रुअरीमा जर्मन राष्ट्रिय टोलीको निर्देशक नियुक्त गरिएको थियो ।
फ्लिकको प्रशिक्षणमा जर्मनीले आफ्ना पछिल्ला पाँच खेलमध्ये चार हारेको छ । गत वर्षको विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरियो । उनीसँगै उनका सहयोगी मार्कस सोर्ग र ड्यानी रोहल पनि बर्खास्त भएका छन् ।