उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमा भेट भएको छ । यो केन्द्र भ्लादिभोस्तकबाट करिब एक हजार किलोमिटर टाढा छ ।

नेता किम कालो लिमोजिनमा कस्मोड्रोमको रकेट प्रक्षेपण गर्ने भवनमा आइपुग्दा राष्ट्रपति पुटिनले स्वागत गरेका थिए । दुवै नेताले मुस्कुराउँदै हात मिलाए र केही शब्दहरू आदान प्रदान गरे । क्रेमलिनको आधिकारिक टेलिग्राम च्यानलमा पोस्ट गरिएको भिडियोमा दुई नेताले हात मिलाउँदै गरेको देखिन्छ ।

नेता किमले राष्ट्रपति पुटिनलाई उनको व्यस्त कार्यतालिकाका बाबजुद पनि भ्रमणका निम्ति निमन्त्रणा गरेकोमा धन्यवाद व्यक्त गरे । यसबाट उत्तर कोरिया र रुसबीचको रणनीतिक सम्बन्ध र दुवै देशका समान प्राथमिकता प्रतिबिम्बित भएका उनले उल्लेख गरे ।

यसअघि रुसी राष्ट्रपति पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किमबीच सन् २०१९ मा भेटवार्ता भएको थियो । आजको द्विपक्षीय वार्तामा हतियार र सैन्य प्रविधि सम्झौता हुने अपेक्षा गरिएको छ । अन्तराष्ट्रिय जगत्ले एक्ल्याएका नेताद्वयले हतियार सम्झौता गर्न सक्ने प्रवल सम्भावना रहेको सुरक्षा विश्लेषकहरूले बताएका छन् । उनीहरूका अनुसार आफ्नो अभेद्य रेल चढेर रुस भ्रमणमा आएका नेता किमले उत्तर कोरियाका वरिष्ठ सैनिक अधिकारीलाई साथमा ल्याउनुको अर्थ हतियार वार्ता हो भन्ने स्पष्ट हुन्छ ।

राष्ट्रपति पुटिनले पनि हतियारलगायत सबै विषयमा छलफल हुने पत्रकारहरूलाई बताएका छन् । हतियार आपूर्ति वा सैन्य–प्राविधिक सहयोगबारे छलफल हुन्छ कि भन्ने पत्रकारहरूको जिज्ञासामा उनले त्यस्तो जवाफ दिएका हुन् । नेता किमले उत्तर कोरियाको अन्तरिक्ष कार्यक्रम विकास गर्न चाहेको बताउँदै त्यसनिम्ति भूउपग्रह सहयोग गर्ने उल्लेख गरे ।

सम्बन्धित समाचार