यस वर्षको पद्मश्री साहित्य पुरस्कार मनु उपन्यासलाई, वात्सायनले पाए पद्मश्री साधना सम्मान

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कार २०७९ देवीप्रसाद सुवेदीको उपन्यास मनुलाई दिने भएको छ ।

मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक– सांस्कृतिक उपन्यास भएको प्रष्ठिानले बताएको छ ।

मूल पात्र मनुको नेतृत्वमा सुर र असुरबीचको द्वन्द्व समाप्त भई उनकै नेतृत्वमा मानवजातिको विकास भएको कथा यस उपन्यासमा चित्रण गरिएको छ । १८० पुस्तकमध्येबाट यो कृतिलाई उत्कृष्ट ठहर्‍याइएको अध्यक्ष जीवा लामिछानेले बताएका छन् ।

उनका अनुसार छनौट प्रक्रियाको पहिलो चरण (विस्तारित सूची)मा पन्ध्र र दोस्रो चरण (संक्षिप्त सूची) मा पाँच पुस्तक सार्वजनिक गरिएको थियो ।

पद्मश्री साधना सम्मान बीसको दशकदेखि चित्रकला र कार्टुनकलाका क्षेत्रमा महङ्खवपूर्ण योगदान दिने कलाकार दुर्गा बराल (वात्स्यायन) लाई अर्पण गर्ने निर्णय गरिएको पनि उनले बताए ।

नेपाली कार्टुनलाई नयाँ शैली तथा कलात्मक र धारिलो व्यङ्ग्यका माध्यमबाट नवीन दिशा दिने काम गरेकोले नेपाली चित्रकलामा वात्सायनको योगदान विशिष्ट रहेको लामिछानेले बताए ।

त्यस्तै, यस वर्षको पद्मश्री गौरव पुरस्कार शिक्षा क्षेत्रमा विशेष योगदान दिने शिक्षाविद् तथा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई दिइने उनले जानकारी दिए। यो गत वर्षबाट प्रदान गर्न थालिएको पुरस्कार हो ।

पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीनवटैको रााशि तीन लाख रहेको
छ । सम्मान तथा पुरस्कार कोजाग्रत पूर्णिमाका दिन प्रदान गरिने उनले बताए।

सम्बन्धित समाचार