पोखरा पर्यटकीय सहर । पोखरा भन्ने बित्तिकै सबैको मन मस्तिष्कमा प्राकृतिक सुन्दरताले भरिपूर्ण हिमाल तालको सुन्दर दृश्य आउँछ । यद्यपि बढ्दो सहरीकरण अव्यवस्थित संरचना र फोहोरको उचित व्यवस्थापनको अभावमा पोखराको सुन्दरता जोगाउन चुनौती बन्दै गएको छ ।
सेप्टेम्बर २७ विश्व पर्यटन दिवसका अवसरमा पोखरामा विभिन्न कार्यक्रम भए । नारा थियो ‘पर्यटनमा हरित लगानी’ अर्थात् (टुरिज्म एन्ड ग्रिन इन्भेष्टमेन्ट) । पर्यटन सम्बद्ध सङ्घसंस्थाले केही औपचारिक कार्यक्रम गरे तर पोखराको सुन्दरतामा बढ्दै गएको प्रदूषण र योसँग जोडिएका वातावरणका विषयमा भने ठोस कार्यक्रम हुन सकेनन् ।
फेवाताल किनारमा कार्यक्रम भइरहँदा फेवाताललाई कसरी प्रदूषण मुक्त बनाउने, आउने पर्यटकले स्वच्छ हावामा डुल्नका लागि खुला ठाउँहरूको व्यवस्थापन कसरी गर्ने भन्ने सवाल पनि उठ्न जरुरी थियो । सधैँ जसो नेता र पर्यटन व्यवसायीका बनावटी सवालहरूमा कार्यक्रम सकियो ।
वातावरणविदहरुले पोखराले सुन्दर, सफा र स्वच्छ सहर भनेर बनाएको पहिचान नै बिस्तारै गुम्दै गएको प्रति चिन्ता व्यक्त गर्न थालेका छन् । पोखराको सुन्दरता बेचेर बाँचेकाहरूले भने यसलाई कसरी जोगाउने भन्नेतर्फ ध्यान दिन नसकेको वातावरण एवम् जलाधारविज्ञ राजन सुवेदी बताउँछन् ।
उनले भने, “पोखरा आफैँमा सुन्दर सहर हो, तर बढ्दो प्रदूषणबाट नजोगाउने हो भने पोखराले आफ्नो विशेषता गुमाउने छ, कुनै पनि कुरालाई थप समस्या हुनुअगाडि नै ध्यान दिन सकियो भने थप समस्या झेल्न पर्दैन ।” उनले पोखरामा अहिले दीर्घकालीन फोहोर व्यवस्थापन, पुराना गाडीबाट निस्कने कालो मुस्लो धुवाँ, प्लास्टिकजन्य फोहोर, अव्यवस्थित संरचना चुनौती बन्दै गएको बताए ।
“पोखरा एकदम पानी पर्ने ठाउँ हो, पानी पर्ने चक्रमा तलमाथि पर्दा त्यसको असर पोखरामा देखिहाल्छ, वातावरणका हिसाबले उपयुक्त मानिने पोखरामा पानी पर्ने विशेषता भनेको यहाँ थुप्रै तालतलैया छन्, यो सहरका लागि निकै राम्रो हो, तर प्रकृतिले दिएका कति कुराको व्यवस्थापन गर्न नजान्दा, व्यवस्थित विकास मोडल अवलम्बन गर्न नसक्दा समस्या देखिएका छन्”, उनले भने ।
उनले समस्याको पहिचान गरेर समयमै व्यवस्थापन गर्न स्थानीय सरकारले नीतिगत रूपमै पहल थाल्न आवश्यक रहेको बताए । “फेवाताल पुरियो, अतिक्रमणमा भयो भन्नेमा मात्रै चासो बढ्यो, तर फेवाताल प्रदूषित भएकोतर्फ ध्यान दिइएको छैन, आज ताल हेरेर रमाउने हामी कुनै दिन ताल हेरेर नाक थुन्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन”, सुवेदीले भने ।
पोखरालाई सुन्दर सहरका रूपमा स्थापित गर्दै स्वच्छ, सुन्दर, हराभरा सहर बनाएर आउने पुस्तालाई हस्तान्तरण गर्नुपर्ने पोखरा बृहत् सफाइ महाअभियानका परिकल्पनाकार एवम् नागरिक अगुवा रामबहादुर पौडेल बताउँछन् । उनले भने, “हाम्रा सन्ततिलाई प्रकृतिले दिएको सुन्दर सफा पोखरा हस्तान्तरण गर्नु हाम्रो दायित्व हो, तर पोखराको सुन्दरता जोगाउने सरोकारवालाले ध्यान दिन सकेनन् यो चिन्ताको विषय हो ।”
उनले सुन्दर पोखरा सबैलाई चाहिएको तर सुन्दर र सफा पोखरा बनाउनुपर्छ भन्ने चेतनाको अभाव र व्यावसायिक मानसिकताका कारण पोखराले आफ्नो सुन्दरता गुमाउँदै गएको बताए । उनले बढ्दो प्रदूषण, तालतलैया र सिमसारमाथिको अतिक्रमण, यत्रतत्र छरिएका अव्यवस्थित तारका साथै अव्यवस्थित संरचनाले पोखरालाई कुरूप बनाउँदै लगेको उनको भनाइ छ । नीति निर्माणको अभाव र भएका नीति नियमको पनि कार्यान्वयन नहुँदा समस्या बढ्दै गएको उनको बुझाइ छ ।
अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै समस्याका रूपमा रहेका फोहोर व्यवस्थापन अहिले महानगरको प्रमुख चुनौती बनेको छ । फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि पोखरा महानगरपालिका–३३ झाँक्री खोलामा ९३ रोपनी जग्गाको मुआब्जा दिने गरी मन्त्रिपरिषद्बाट निर्णय भइसकेको महानगरले जनाएको छ ।
यसका लागि आशयपत्र प्रकाशित भइसकेको प्रस्ताव माग भए पनि स्थानीयवासीले उठाएका माग सम्बोधन हुन नसक्दा केही कठिनाइ देखिएको महानगरको वातावरण शाखाका अधिकृत निर्मलमानसिं भण्डारी बताउँछन् । “पोखरालाई सुन्दर, सफा र स्वच्छ बनाउने नीतिगतरुपमै योजनाहरू छन्, ‘ग्रिन सिटी, क्लिन सिटी’को अवधारणाअनुरूप दुई लाख बिरुवा रोप्ने, पोखराको फोहोरको दीर्घकालीन व्यवस्थापन गर्ने, पुराना गाडीलाई प्रतिस्थापन गर्दै विद्युतीय गाडीलाई प्रोत्साहित गर्ने, व्यवस्थित अटो भिलेज, औद्योगिक क्षेत्रको व्यवस्थापन, अव्यवस्थित तारहरूलाई ‘अन्डरग्राउन्ड’ गर्ने, सार्वजनिक शौचालय बनाउनेलगायतका कार्यक्रम छन् ।”