भारतको पूर्वी राज्य झारखण्डमा भारी वर्षा र चट्याङका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ ।
क्षेत्रीय विपद् व्यवस्थापन निकायका अनुसार भारी वर्षाका कारण आएको बाढी र डुबानका कारण अन्य कैयौँ व्यक्ति घाइते भएका छन् भने केही वेपत्ता छन् ।
झाखण्डको जामतारा जिल्लामा चट्याङ लागेर एक महिलासँगै उनका डेढ वर्षदेखि सात वर्षसम्मका बालबालिकाको मृत्यु भएको प्रहरी अधिकारीहरुले बताएका छन् ।
झारखण्डका केही भागमा शनिबारदेखि लगातार वर्षा भइरहेको छ । वर्षा अझै केही दिन जारी रहने मौसमविदहरुले बताएका छन् ।
अविरल वर्षाका कारण घरहरु क्षतिग्रस्त हुनुका साथै सडक डुबानमा परेका छन् । नदीमा पानीको बहाव खतराको तहसम्म पुगेको विपद व्यवस्थापन अधिकारीहरुले बताएका छन् ।
झारखण्डका केही भागमा शनिबार साँझदेखि अविरल वर्षा भइरहेको छ । जसले धेरै कल्भर्टहरू, डाइभर्सनहरूलाई क्षति पुर्याएको छ। राँचीमा भारी वर्षापछि सडक जलमग्न बनेका छन् ।
रांची मौसम विज्ञान केन्द्रका इन्चार्ज अभिषेक आनन्दका अनुसार न्यून चापीय प्रणालीको प्रभावका कारण झारखण्डमा व्यापक वर्षा भएको हो ।