संगीतकार दिपक शर्माले युट्युवमा एक करोड भन्दा बढी भ्युज पाएको आफूद्धारा संगीतवद्ध ११ वटा आधुनिक, लोकपप गीतहरुको सग्रह ‘दिपक शर्माका संगीतवद्ध करोड क्लबका लोक आधुनिक गीतहरु’ सार्वजनिक गरेका छन् ।
शुक्रबार काठमाडौंमा एक समारोहबीच संगीतकार शर्माका बुबा हरिलाल जैसी, गायक रामकृष्ण ढकाल, गीतकार डब्बु क्षत्री, गीतकार राधिका अधिकारी र संगीतकार दिपक शर्मा आफैंले यो गीति सँग्रह सार्वजनिक गरेका हुन् ।
अहिलेसम्मको सर्वाधिक १० करोड भ्युज पाएको नेपाली आधुनिक गीत पिरेम नलाउने सहित ११ वटा गीतलाई दिपकको यो सँग्रहमा समेटिएको छ ।
जसमा दिपकको रचना र संजिव पराजुलीको स्वरको छैन मलाई पिर…, दिपकको रचना र प्रमोद खरेलको स्वर रहेको छुट्टिएर तिमीसँग…, दीपककै शब्द र मेलिना राई एवम् पदम राईको स्वरको पछिपछि लागेर…, दिपकको शब्द र रुपेश चन्द्रको स्वर रहेको बालखैमा दिल बस्यो…, सरोज ओलीको शब्द तथा सरोज र मेलिना राईको स्वर रहेको ए है मायाँ…गीत सँग्रहित छ।
यस्तै यो सँग्रहमा दिनेश थपलियाको शब्द र सरोज ओली एवम् मेलिना राईको स्वरको अर्को जुनी खै कुन्नी…, सरोज ओलीको शब्द र मेलिना राई एवम् राजेश पायल राईको स्वरको फुल फूलेको बन…, दिपककै शब्द र सहिमा श्रेष्ठसँगै संदिप न्यौपानेको स्वरको ओकल दोकल…, अमर बान्तुको शब्द र धु्रब बिस्को एवम् सहिमा श्रेष्ठको स्वरको सिल्की कपाल…र घनश्याम ओलीको शब्द र मेलिना, रचना, अस्मिता, एलिनाको स्वर रहेको आयौ चेली…जस्ता एक करोड भन्दा बढी भ्युज पाएको गीत यो एल्बममा सँग्रहित छ।
यी बाहेक चलचित्रका ६ वटा र अन्य ४ वटा गरेर अरु १० वटा गीतहरुले पनि युट्युवमा एक करोड भन्दा बढी भ्युज पाएको पनि संगीतकार दीपक शर्माले कार्यक्रममा बताए ।
जीवनमा पहिलो पटक छोराको गीति सँग्रह विमोचन गर्न पाउँदो साह्रै खुसी लागेको बुबा हरिलाल जैशीले कार्यक्रममा बताए। विमोचन समारोहमा उनी निक्कै भावुक भएका थिए ।
गायक रामकृष्ण ढकालले अहिलेको पुस्ताका संगीत आफुद्धारा संगीतबद्ध सबै गीतहरु हिट मनाउने नायकको रुपमा संगीतकार दिपक शर्मा परिचित रहेको बताए ।
मुख्य गरेर लोकलयमा आधारित रहेर गीतसंगीत सृजना गर्ने भएकाले पनि दिपकद्धारा संगीतबद्ध सबै गीतहरू लोकप्रिय हुनुका साथै करोड क्लबमा पुग्ने गरेको उनको भनाई थियो ।
यस्तै गीतकार डब्बु क्षत्रीले बजारमा दिपक शर्माको गीत आउनासाथ दर्शकले औधी मन पराउने बताए ।
नेपालमा सबैभन्दा बढी युट्युबमा करोड भ्युज कमाउने संगीतकारमा दीपक शर्मा नै पहिलो स्थानमा रहेको पनि गीतकार क्षत्रीले जिकिर गरे ।