एसियाली खेलकुद: नेपाललाई कराँतेमा ऐतिहासिक रजत

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) को १५औँ दिन नेपालले कराँते खेलमा ऐतिहासिक रजत पदक जितेको छ ।

हाङझाउस्थित लिननि स्पोर्ट्स सेन्टर जिम्न्याजियम शनिबार भएको महिला ६८ केजी तौलसमूहमा नेपालका लागि एरिका गुरुङले ऐतिहासिक रजत दिलाएकी हुन् ।

फाइनलमा उनी काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० अङ्कले पराजित भइन् । सोफ्या हालै सम्पन्न एसियन कराँते च्याम्पियनसिप २०२३ की स्वर्ण विजेता समेत हुन् ।

यसअघि सेमिफाइनलमा एरिकाले हङकङकी यान काई होलाई ८–४ अङ्कले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन् । क्वार्टरफाइनलमा एरिकाले जापानकी खेलाडी एजुकी सबाइलाई सेन्सुको आधारमा हराएकी थिइन् ।

दुवैको समान १–१ अङ्क भएपनि पहिलो अङ्क पाएको आधारमा एरिका सेमिफाइनलमा पुगेकी थिइन् । १९ वर्षीय एरिका नेपालका लागि एसियाड कराँतेमा ऐतिहासिक रजत जिताउने पहिलो खेलाडी समेत बनेकी छन् ।

नेपालले एसियाड कराँतेमा पहिलो पटक रजत पदक जितेको हो । एसियाडको इतिहासमा नेपालको यो समग्रमा तेस्रो रजत हो । यसअघि नेपालका लागि तेक्वान्दोकी सविता राजभण्डारीले सन् १९९८ को बैंकक एसियाडमा व्यक्तिगत रजत र अघिल्लो संस्करणमा नेपालको प्याराग्लाइडिङ टोलीले टिम स्पर्धामा रजत जितेको थियो ।

नेपालका लागि यो समग्रमा तेस्रो र व्यक्तिगत स्पर्धामा भने दोस्रो एसियाड रजत पदक हो ।

सम्बन्धित समाचार