व्यावसायिक फुटबल खेल्न इजरायल पुगेकी नेपाली राष्ट्रि महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी साम्बा स्वदेश फर्किएकी छन् ।
साम्बा बुधबार राति इजरायलबाट नेपाल फर्किएकी हुन् । उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेस शाहले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।
गत शनिबार बिहानदेखि प्यालेस्टाइनी विद्रोही समूह हमास हमलाका कारण इजरायल हिंसाग्रस्त भएपछि साम्बा स्वदेश फर्किएकी हुन् ।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनले भनिन्, ‘आफ्नो देशमा फर्कन पाउँदा खुसी लागेको छ, इजरायलमा हिंसात्मक स्थिति उत्पन्न भएपछि सबै खेलहरु स्थगित भएका कारण स्वदेश फर्किएको हुँ ।’
इजरायलको द्वन्द्वमा परी मृत्यु भएका नेपालीका परिवारलाई धैर्य गर्ने शक्ति मिलोस् भनी उनले कामना पनि गरिन् ।
मंगलबार राति इजरायलबाट प्रस्थान गरेकी साम्बा बैंकक हुँदै बुधबार मध्यराति नेपाल आइपुगेकी हुन् ।
साम्बालाई उनको क्लब हापोयल रानानाले नै नेपाल पठाएको हो । इजरायल हिंसाग्रस्त भएपछि साम्बा इजरायलस्थित नेपाली दूतावासमा बसेकी थिइन् ।
साम्बा यसै सिजन इजरायली क्लब हापोएल रानानामा अनुबन्ध भएकी हुन् । एसियाली राष्ट्र भएपनि युरोपेली पुटबल महासंघमा आबद्भ भएकोले साम्बा युरोपियन लिगमा खेल्ने पहिलो नेपाली खेलाडी समेत हुन् ।